Sunday, September 20, 2009

सबैलाई वशमा कसरी राख्ने ?

सबैलाई वशमा राख्नि टिप्स्:
"मित्रं स्वच्छतया, रिपुं नयबलैर्, लुब्धं धनैरीश्वरं
कार्येण, द्विजमादरेण, युवतीं प्रेम्णा, शमैर् बान्धवान् ।
अत्युग्रं स्तुतिभिर्, गुरुं प्रणतिभिर्, मूर्खं कथाभिर्, बुधम्
विद्याभि: रसिकं रसेन सकलं शीलेन कुर्याद् वशम् ।।"
अर्थ:
"मित्रलाई बिनाछलकपटको स्वच्छभावले, शत्रूलाई कूटनीतिले, लोभीलाई धनले, ईश्वरलाई कर्मले, विद्वान् लाई आदरले, युवतीलाई प्रेमले, बन्धुलाई समभावले,अतिउग्रलाई स्तुतिले, गुरुलाई प्रणाम(समर्पणभाव)ले, मूर्खलाई कथाले, बुद्धिमान् लाई विद्याले, रसिकलाई रसले सबैलाई शील(चरित्र)ले वशमा गर्न सकिन्छ ।"

प्रेम र कर्म

तिनिहरू अति भाग्यमानी थिए
जसले प्रेमलाई कर्म सम्झिन्थे 
वा कर्मसँगै प्रेम गर्थे 
म पनि जीवनभर व्यस्त रहेँ
अलिकति प्रेम गरेँ अलिकति कर्म गरेँ
कर्मले प्रेममा भाँजो हालिरह्यो
प्रेमले कर्मलाई उल्झाइरह्यो
 अन्तिममा दिक्क भएर मैले
दुवैलाई अधुरै छोडिदिएँ...
( मूल: ऊर्दू, फैज अहमद फैज)

Wednesday, June 10, 2009

दिने ? कि लिने ?

कुनै बखतमा दुईजना सन्यासीहरू जंगलको बाटो कतै जाँदै थिए । बाटोमा एउटा पाँच रूपैयाँको नोट देखा पर्यो । एक जना सन्यासीले त्यो नोट टिपेर कमण्डलुमा हाले तर अर्को सन्यासीले सम्झाउँदै भने “सन्यासीले धन लिनु गलत हो, तसर्थ यो नोट नलिनु नै ठीक हो ।” नोट लिने सन्यासीले सुनेनन् र दुबै जना अघि बढे । साँझपख दुबै जना एउटा नदीको किनारमा पुगे जसको पारीको मठमा उनीहरूलाई जानु थियो । उनीहरूले नदीको माझीलाई पारी पुर्याइदिन अनुरोध गरे तर माझीले अन्तिम पटक नाउ खियाइ सकेर बाँधीसकेको बताएर अस्वीकार गर्यो । पाँच रूपैयाँ लिने सन्यासीले माझीलाई पाँच रूपैयाँ दिए र पारी पुर्याइदिन भने । यसपटक माझीले नाउ फुकायो र दुबैलाई पारी पुर्याउन लाग्यो । रूपैयाँ लिने सन्यासीले अर्को सन्यासीलाई भने “ हेर्नुहोस् मैले त्यो रूपैयाँ लिएको हुनाले अहिले काम लाग्यो” । अर्को सन्यासीले भने “तपाईँलाई अझै भ्रम रहेछ, त्यो रूपैयाँ लिएको हुनाले होइन दिएको हुनाले काम लागेको हो ।”

विष्ठाले मान्छेलाई के भन्यो?

कुनै बखतमा एक जना शिष्यले गुरुकुलबाट अध्ययन सकी गुरुलाई 'गुरुदक्षिणा स्वरूप के टक्र्याउँ?' भनी सोधे । गुरुले अाफ्ना प्रिय शिष्यबाट कुनै गुरुदक्षिणा नलिने बताउँदा पनि शिष्यले ढिपी गरेको देखेर गुरुले पनि 'मलाई संसारको सबैभन्दा खराब वस्तु देऊ' भनी माग गरे । 

शिष्यले धेरै विचार गरेर मानव विष्ठा उठाउन लाग्दा विष्ठाले भन्यो ' हे अधम मनुवा तँ मलाई न छो, पहिले म सम्पूर्ण देवताको पनि प्रिय अन्न फलफूल अादि थिएँ, तेरो एक पटकको संसर्गबाट मेरो यो हाल भईरहेछ, फेरी संसर्ग भएमा के हुने हो? ' । विष्ठाको कुरा सुनेर शिष्य झल्यास्य भए र गुरुसँग पुगेर साष्टांग दण्डवत् गरी 'संसारको सबैभन्दा खराब वस्तु मानव शरीर हो, यो नै चरणमा अर्पण गरेँ' भने । गुरुले पनि प्रशन्न भई शिष्यलाई अँगालो हाले ।

पण्डित र माझी

कुनै बखतमा एकजना महापण्डित डुंगाबाट नदी तर्दै थिए ।आफ्नो विद्वत्ताको ठूलो घमण्ड भएका तिनले माझीलाई सोधिहाले -"तैँलै कति पढेको छस् ? तँलाई दर्शनशास्त्रको ज्ञान छ ? मैलै त दर्शनशास्त्रमा विद्यावारिधि गरेको छु l" माझीले आँफू निरक्षर भएको बतायो । पण्डितले भने- "हेर् दर्शनशास्त्रको ज्ञानबिना तेरो एक चौथाई जीवन व्यर्थ भयो, खैर तैँलै हिसाब त जानेको होलास् नि ?" माझीले आँफूले हिसाब पनि नजानेको बतायो । पण्डितले अगाडी बताए, "ए तेरो त दोस्रो चौथाइ जीवन पनि व्यर्थ गएछ, हेर् मैलै त गणितमा आचार्य पास गरेको छु , खैर तैँले तर्कशास्त्र त जानेको होलास् नि ?" यत्तिकैमा नदीमा आँधी आयो र माझीले भन्यो, "तपाईँले पौडन जान्नु भएको छ? छैन भने त तपाईँको पूरा जीवन नै बेकम्मा हुन सक्छ " यति भनेर ऊ नदीमा हामफाल्यो l आँधीले डुंगा हुत्याइदियो l त्यसदिन पछि ती पण्डितको कुनै खबर सुनिएन ।

चित्रः स्वयं

Monday, April 20, 2009

पतञ्जलिलाई हृदयत: नमन छ

"योगेन चित्तस्य पदेन वाचां मलं शरीरस्य तु वैद्यकेन ।
योऽपाकरोत् तं प्रवरं मुनीनां पतञ्जलिं प्राञ्जलिरानतोऽस्मि ।।"
~जसले योगशास्त्र (पातञ्जलयोगसूत्र)द्वारा चित्तको, शब्दशास्त्र (पाणिनीयव्याकरणको महाभाष्य)द्वारा वाणीको  वैद्यशास्त्र ( चरकसंहिता) द्वारा शरीरको ( टि. चरक पनि पतञ्जलिकै अर्को नाम हो भन्ने मत छ) मल/बिकारलाई दूर गरे त्यस्ता भगवान् पतञ्जलिलाई हृदयत: नमन छ ।

Friday, February 20, 2009

आशा

भीष्म द्रोण  कर्ण अादि बलवान् उस्ता महावीरको,
पत्ता केही चलेन आज अहिले प्रत्यक्ष नै देखियो ।
जाबो शल्य गएर पाण्डुसुतको संहार गर्ला भनी,
लागेकै छ मलाई हा! बलवती आशा अहो तैपनि ।
~चक्रपाणिकृत संक्षिप्त भारत

धेरै पढिएकाे

पृष्ठ संग्रह