म समयलाई चिन्दिन
म आफ्ना विचारपंक्तिलाई नियाल्छु
परिचित अनुहारहरू
अपरिचित भावहरू
अस्पष्ट आन्दोलित मुद्राहरू
तर किंकर्तव्यविमूढ चलिरहेछन्
समय बगिसकेछ
तन्ना मैलिएछ
.
असम्बन्धित अनियन्त्रित र छरपष्ट आशाहरू
सिरानीमा जिस्ता कागजहरू जस्तै थुप्रिएछन्
सुन्दर पुस्तकको कल्पना नगरौ
सामान्य बन्धनको पनि फुर्सत भएन
विश्वासका दुर्गहरू खण्डहरमा बदलिँदा
अक्षरहरूमा घोत्लिन खोज्दा नखोज्दा
दिनहरू र महिना पनि वितिसकेछ
तन्ना मैलिएछ
.
भएभरको साहस बटुलेर
जीवनकक्षामा एकाग्र हुन खोज्दा
भोलिबाट त अवश्य अध्ययनमा जुट्छु भन्दा
छेपाराको आहान भएछ
अध्ययनबाट विचलित हुँदा
सोचहरू खिइँदै गएछन्
तालको डुंगा पारी पुगिसकेछ
तन्ना मैलिएछ
.
ज्ञानलाई जोखेर प्रयोगमा उतार्न खोज्दा
आफ्नै विचारहरू धमिलिइसकेछन्
सोचको नदीमा बाँध बाँध्न नसक्दा
समयको वेगसँगै दगुर्न खोज्दा
लडेको म र मेरो मर्केको हात सुम्सुम्याउन खोज्दा
हिमाल पग्लिएछ
तन्ना मैलिएछ
.
मूल्याङ्कनको मापदण्ड बदलिँदा
गलत र सही दुबैले एउटै पछ्यौरा ओढेर आउँदा
शुभेच्छुकहरूको कुरै छाडौँ
आत्मीयहरूले समेत चिन्न गारो मान्दा
आँसु र हाँसोमा फरक नदेख्दा
आँखाहरू बेकम्मा भैसकेछन्
विचार नदी पनि सुकेछ
तन्ना मैलिएछ
.
चञ्चल चित्तमा जंजीर फसाएर
हिँड्ने अपाङ्गहरूलाइ थाहा छैन
चित्तविजयको आनन्द
स्वतन्त्र साँढे झैँ देखिनाले
बोलेको सत्य समेत
एक्ला बृहस्पति झुट्टा भएछ
मनको कलुष धुन पनि फुर्सद भएनछ
तन्ना मैलिएछ
Recitation of the Poetry @CafeKabita Pokhara