Wednesday, December 21, 2016

पत्नीसित कलह

शिव संकल्पकाे एकदिन पत्नीसित कलह भय‍ो...
पत्नी 'अब कहिल्यै घर आउन्न' भनेर माइत गइन् ...
...
दुई दिन पछि शिव संकल्पले फोन गरेर भने
'प्रिये! मबाट भूल भयो, क्षमा गर र घर फर्केर आऊ!'
पत्नीले सोधिन् "के तपाईँको नजिकै कुनै गिलास छ? "
"छ " शिव संकल्पले जबाफ दिए ।
पत्नीले भनिन् "अब त्यसलाई जोर सित भुईँमा बजार्नुहोस् ।"
...
शिव संकल्पले पत्नीले जसो भनिन् उसै गरे ...
पत्नी कड्किइन् 'के अब तपाईँ ती शीशाका टुक्रा टुक्राहरूलाई जोडेर पहिले जस्तै बनाउन सक्नुहुन्छ? '
...
शिव संकल्पले भने 'सक्दिन, किनभने मैले बजारेको स्टीलको गिलास फुटेकै छैन...
पत्नीले भनिन् 'कुनै पनि काम ढंगसित गर्नुहुन्न हजुर । भरे आउनोस् मलाई लिन ...!!!!
😂😂😜😝😝😝😝😝

Sunday, December 18, 2016

विशिष्ट बैंक खाता

यदि तपार्इँसित एउटा यस्ताे विशिष्ट बैँक खाता हुँदाे हाे जसमा हरेक दिन अाफै रू. ८६,४०० जम्मा हुने तर भाेलिपल्ट त्याे सबै रकम अाँफै घट्ने तर पुनः अर्काे रू८६,४०० जम्मा हुने अर्थात् हरेक दिनकाे रकम त्यसै दिन निकालेर सदुपयाेग गरेमात्र काम लाग्ने तर सञ्चित नहुने हुँदाे हाेस् त तपार्इँ के गर्नुहुन्थ्याे?
हरेक दिनकाे रकम त्यसैदिन निकालेर सदुपयाेग गर्नुहुन्थ्याे हैन र?
पक्का पनि! तर के तपार्इँलार्इ थाहा छ ? हामी सबैसित साँच्चै नै त्यस्ताे बैंक खाता छ, त्यसकाे नाम हाे समय । समयले हामीलार्इ हरेक दिन ८६,४०० सेकेण्ड दिएकाे हुन्छ, हामीले त्यसलार्इ बचाएर राख्न सक्दैनाैँ, त्यसलार्इ त्यसै दिन सदुपयाेग गरेकाे हुनु पर्दछ । के हामी त्यसाे गर्छाैँ त ?

Sunday, December 11, 2016

पत्नी नै घर हो ।


वृक्षमूलेऽपि दयिता यस्य तिष्ठति तद् गृहम् ।
प्रासादोऽपि तया हीन: कान्तार इति निश्चितम् ।।
~महाभारत, शान्तिपर्व १४४।१२
अर्थ:
रूखमुनि पनि यदि पत्नी रहन्छे भने त्यो घर हो । पत्नी नरहेको त दरबार पनि जङ्गलै हो ।

Thursday, December 1, 2016

अंग्रेजी नएँ बर्ष


अार्को सालको अंग्रेजी नएँ बर्षको लागि व्यापारीहरूलाई एउटा सुझाव नि:शुल्क दिँदैछु । सिङ मत्रै हैन बत्ती बल्नि पुच्छर पनि बनाए बिक्थ्यो ।

Tuesday, November 1, 2016

भाईटीका मन्त्र

भाईटीकामा दाजुभाईलाई प्रसाद दिने मन्त्र:
"भ्रातस् तवाऽ-नु(ग्र) जाताऽहं भुक्ष्वापूपादिकं शुभम् ।
प्रीतये यमराजस्य यमुनाया विशेषत:।।"
.
अर्थ: "हे दाई/भाई! यमुनाका तर्फबाट यमराजलाई प्रसन्न बनाउने प्रसाद झैं यो प्रसाद ग्रहण गर्नुहोस् ।"
विशेष: दाजु भए 'तवाऽनु'  भाई भए 'तवाऽग्र' भन्नुपर्छ ।

बिमिरो




हाम्रा घरमा फलेको बिमिरो (Citrus medica)
.
आयुर्वेदको ग्रन्थ भावप्रकाशनिघण्टु अनुसार बिमिरो घाँटी, जिब्रो  मुटुका लागि लाभदायक तथा नाकमुखबाट रगत आउने अवस्थामा पनि हितकारक छ । साथै यो श्वास सम्बन्धि रोग, खोकी, अरूचि  तृष्णाशामक समेत छ । 
.
"बीजपूरो मातुलुङ्गो रूचक: फलपूरक:।
बीजपूरफलं स्वादु रसेऽम्लं दीपनं लघु ।।
रक्तपित्तहरं कण्ठजिह्वाहृदयशोधनम् ।
श्वासकासारूचिहरं हृद्यं तृष्णाहरं स्मृतम् ।।
(१३०-१३१ ।। फलादिवर्ग, भा.प्र.)

Sunday, October 9, 2016

दुर्गासप्तशती

शूलेन पाहि नो देवि पाहि खड्गेन चाम्बिके
घण्टास्वनेन नः पाहि चापज्यानिःस्वनेन च।।४-२४ (दुर्गासप्तशती)
हे देवि! हे आमा! हजुरका शूलले, खड्गले घण्टाको ध्वनिले  धनुषका टंकारले समेत हाम्रो रक्षा गर्नुहोस्!

Sunday, October 2, 2016

निराशावादी

कुनै समयमा शिव संकल्पको सेतो कमिजमा नीलो मसीको दाग लाग्यो । उनले त्यो दाग हटाउन अनेक प्रयास गरे । विविध प्रकारका साबुन तथा रसायनहरू प्रयोग गर्दा पनि त्यो दाग गएन । उनले साबुन तथा रसायन निर्माता प्रति निराशा प्रकट गर्दै भने "हरे! ऐले सम्म एउटा गतिलो दागनाशक पनि बन्न सकेक‍ो छैन! "
एक दिन शिव संकल्पकी पत्नीले नौलो रसायन लिएर आइन् । त्यो रसायनले त्यो मसीको दाग एक पटकमा नै हटाइदियो। अब शिव संकल्पले खुइय्य गर्दै भने "हरे ऐलेसम्म पनि यौटा गतिल‍ो मसी बन्न सकेको छैन! "

Wednesday, August 17, 2016

अशोकवाटिकाका फूलहरू कस्ता थिए?

चित्रः राजा रवि वर्मा
लंका विजय गरी अयोध्या फर्कीसके पछि श्रीरामले हनुमानजीलाई सोध्नुभयो, "अशोकवाटिकाका फूलहरू कस्ता थिए? " । 
"राता थिए प्रभु! " हनुमानजीले उत्तर दिनुभयो । यही प्रश्नमा सीताजीले भन्नुभयो "हैन भगवन्, अशोकवाटिकाका फूलहरू सेता थिए ।" 

यहाँ माता
 सीता र भक्त हनुमान् दुवै गलत थिएनन् । हाम्रा निष्कर्षहरूमा बाहिरी दृष्टिभन्दा पनि आन्तरिक मानसिक अवस्था महत्त्वपूर्ण हुन्छ ।

Monday, August 8, 2016

चेपारे

परोक्षे कार्यहन्तारं प्रत्यक्षे प्रियवादिनं
वर्जयेत् तादृशं मित्रं विषकुम्भं पयोमुखम् ।।
परोक्षमा खेदो खन्नि  प्रत्यक्षमा चेपारे पार्नि मित्रलाई माथि माथि दुध भएका विषका घैँटालाई जस्तै त्याग गर्नुपर्छ ।

Friday, June 10, 2016

ज्ञान र धर्म (न्याय र क्षमा )

 कुनै बखतमा एउटा राजकुमार र ऋषिकुमारका बीचमा 'को ठूलो?' भन्ने विवाद भएछ । विवादले ठूलो स्वरूप लिँदै जाँदा कुरा बाजीसम्म पुगेछ । कति बाजी थाप्ने भन्दा राजकुमारले दश करोड स्वर्णमुद्रा वा अझ बीस करोड स्वर्णमुद्राको बाजी थाप्ने कुरा गरे । ऋषिकुमारसँग त त्यत्रो सम्पत्ति नभएकाले उनले भने, "यो दश करोड वा बीस करोड स्वर्णमुद्रा त मसँग छैन यो त असमान बाजी भयो, अाऊ बरु दुवैसँग भएको प्राणकै बाजी थापौँ" । राजकुमार पनि सहमत भए, बरु निर्णय 'कोसँग लिने?' भन्दा ऋषिकुमारले निर्णय राजासँगै लिने कुरा बताए र दुवै राजा समक्ष पुगे । राजाले निर्णय सुनाउँदै राजकुमारलाई भने, "बाबु तिमीबाट बाजी थापेर ठूलो गल्ती भएछ, यी ऋषिकुमारकी आमा तिम्री आमा रानी भन्दा धेरै महान् हुन्, यिनका पिता ऋषि पनि मभन्दा धेरै महान् हुन् र यी ऋषिकुमार पनि तिमीभन्दा धेरै महान् हुन् , अब बाजी अनुसार तिमीले प्राण दिनुपर्ने भयो "। तर ऋषिकुमारले राजकुमारलाई क्षमा दिए । राजकुमारको पनि दम्भ हट्यो । उनले ज्ञान र क्षमाशीलता तथा शासकधर्म र न्यायको सम्बन्ध एवं महत्त्व बुझे ।

सुख दुःख

फाेटाेः  फ्लिकर
कुनै बखतमा चिनीको पहाडमा बस्ने कमिलाले नूनको पहाडमा बस्ने आफ्नो परममित्र कमिलालाई आफ्नो पहाडमा आउने निमन्त्रणा दियो । चिनीको पहाडमा घुम्दै गर्दा नूनको पहाडवाला कमिलाले भन्यो "खै त तेरो पहाडमा सुने जस्तो मीठो त केही छैन त? " । यस्तो सुनेर चिनीको पहाडवाला कमिलाले यसो आफ्नो मित्रको मुखमा हेरेको त उसले आफ्नो मुखमा नूनको ढिक्का लिएर आएको रहेछ । त्यसपछि चिनीवालाले भन्यो "हेर् मित्र, जबसम्म तैँले आफ्नो मुखको नून फ्याक्दैनस् तबसम्म तँलाई चिनीको स्वाद आउने छैन! " ।
हामी पनि दु:ख, पीर, चिन्ता अादिको यति अभ्यस्त भैसकेका छौँ कि जति नै सुखद परिस्थितिमा पनि हामी यी चीजलाई छोड्न सक्दैनौँ । सुखको पहिलो सूत्र हो : पीर, चिन्ता आदि नकारात्मक कुराको त्याग । तब नै हामी प्राप्त सुखलाई अँगाल्न सक्छौँ । अस्तु ।।

Wednesday, May 18, 2016

युयुत्सु

युयुत्सु धृतराष्ट्रका पुत्र थिए, कौरवका आफ्नै भाई । तर सदाचारी र सत्य, धर्मका पक्षपाती । जब कुरुक्षेत्रमा दुवै सेना अामने सामने थिए तब युद्ध शुरू हुनु अघि युधिष्ठिरले कौरव सेना सामुन्ने गएर उद्घोष गरे- यदि कोहि अझै पनि सत्य, न्याय र धर्मको साथ दिन चाहन्छ भने म अन्तिम पटक आमन्त्रण गर्दछु । न भीष्म आउन सके न त द्रोण नै तर युयुत्सु पाण्डव पक्षतर्फ आए । युधिष्ठिरले ससम्मान उनको स्वागत गरेर आफ्नो सेनामा मिलाए। युयुत्सु युद्ध पछिसम्म पनि बाँच्ने धृतराष्ट्रका एकमात्र पुत्र रहे । पछि पाण्डवहरू महाप्रस्थानमा जाँदा परीक्षितलाई युयुत्सुकै संरक्षणमा छोडेर गए ।

Tuesday, May 10, 2016

घटघटवासी

महाभारतको युद्ध समाप्त भैसकेपछि एक दिन कृष्णाले कृष्णसँग सोधिन् "हे कृष्ण! जब भरी सभामा दु:शासनले मेरो वस्त्र खिँच्दै थियो तब मेरो दीन पुकारका बावजुत हजुरले मेरो लज्जा रक्षणार्थ आउन किन विलम्ब गर्नुभयो? "
कृष्णले भने "हे द्रौपदि! तिमीले मलाई पुकारा गर्दा 'हे द्वारकावासी कह्नैया, मेरो लज्जाको रक्षा गर्नुहोस्' भनेर पुकारा गरेकीले मलाई एकपटक द्वारका पुगेर आउनुपर्‍यो, त्यसै हुनाले विलम्ब भएको हो ।"
सज्जनहरूले तात्पर्यार्थ बुझ्नु नै भयो होला!
'हामीले आँफैसँग भएको कुरा पनि अज्ञानले गर्दा अन्तै छ भन्ने ठानेर सजिलै पाउन सक्दैनौँ र बाहिर खोज्छौँ र पाउन गाह्रो विधि अपनाउँछौँ' l

Sunday, May 1, 2016

मातापिता


मेरा मातापिताकाे विवाह भएकाे साठी वर्ष पुगेछ । विवाह हुँदा वहाँहरूकाे उमेर १५ वर्ष र १३ वर्षकाे रहेछ । सात सन्तानका मातापिता रहेका वहाँहरूलार्इ संभवतः सन्तानकाे शिक्षा र जीवनबाट सन्ताेष भएकाे हुनुपर्छ । वहाँका सात सन्ततिमा अधिकांशले न केवल उच्च शिक्षा ( चार विद्यावारिधि, दुर्इ एम् डी ) प्राप्त गरे परन्तु सादा र सत्यनिष्ठापूर्वक बाँच्ने साहस पनि प्राप्त गरे ।

Tuesday, February 9, 2016

सुशील दा



सडक आन्दोलनको बेला थियो, प्रज्ञाप्रतिष्ठानमा राजाले विघटित गरेको संसद् चल्दथ्यो, मेरा पिताजीले २०४७ सालमा निकालेको "नेपालमा लोकतन्त्र दरो  दिगो कसरी होला? " भन्ने पुस्तिका रत्नपार्कमा बसेका सुशील दालाई पुन: दिँदै भन्नुभयो " २०४७ मा सबै नेतालाई बाँडेको यो पर्चा आज फेरी दिन्छु, राजाका दाह्रा नङ्रा नफालिकन लोकतन्त्र कहिल्यै दिगो हुन्न भनेर ऊ बेलामा भनेको मान्नुभएन! " (२०४७ वैशाखमा प्रकाशित उक्त पुस्तिकामा नेपालमा राजतन्त्र  सेनाको आकारको अनौचित्य बताईएको थियो)
"हो गल्ती भयो गुरु! ", सुशील दाले भन्नुभयो, "अब राम्रैसँग अधिकार लिन्छौँ"
( मेरो
सुशील दा सँगको पहिलो भेट)
* **
धेरै पछि सुशील दा सँग मेरो दोस्रो  अन्तिम भेट भयो । सुशील दाले मुसुक्क हाँसेर भन्नुभयो, "बधाई छ।"
मैले भनेँ, "धन्यवाद प्रधानमन्त्रीज्यू! " ।
दिवंगत आत्माको शान्तिको कामना!

Wednesday, January 20, 2016

अनि मदन रेष्टुरेण्ट छिर्छन्

हातका मैला कागज् का नोट, रोग् धेरै सर्दछ, 
जे मन् छ खानु डाक्टर्ले भन्छ, क्रेडिट् कार्ड घोट्दछ ।।
मःमः  पिट्सा थपेर खान्छ, केचप् ले पुग्दैन,
मानिस ठूलो भुँडीले हुन्छ, मेकप्ले हुँदैन ।। 
...मुना मेकप्ले हुँदैन ।। 
(अनि मदन रेष्टुरेण्ट छिर्छन् ।)

धेरै पढिएकाे

पृष्ठ संग्रह