Sunday, January 22, 2017

म त्यो लोकतन्त्रको नाम बदल्न चाहन्छु (कविता)

पाँच-पाँच वर्षमा
अझ कति हो कति वर्षमा
मेरो नङमा कालो पालिस लगाइदिएको सट्टामा
मलाई मन नपरेको मान्छेको
मलाई मन नपरेको चिह्नमा
छाप लगाउन पाउनु मात्रै मेरो अधिकार हो भने
म त्यो लोकतन्त्रको नाम बदल्न चाहन्छु ।

सयौं विधायकहरूलाई संसद्‌मै थुनेर
मुट्ठीभर मान्छेले-
विदेशीको इशारामा नियम थोपर्छन् भने
हरेक समुदायका टाठा र बाठाले
आफ्नाको कुरा छाडेर
अरूकै इशारामा बकिरहन्छन् भने
निर्धा र निमुखाको घोडा चढिरहन्छन् भने
म त्यो लोकतन्त्रको नाम बदल्न चाहन्छु ।

जागिरमा होस् या पढाइमा
ठेक्कामा होस् या नियुक्तिमा
सरूवामा होस् या बढुवामा
अमुक दलको कोटामा नपरी
मालिकका पाउमा दक्षिणा नछरी
सफल हुनलाई मैले देशै छोड्नपर्छ भने
म त्यो लोकतन्त्रको नाम बदल्न चाहन्छु ।

मेरो व्यवसायमा अनि कार्यालयमा
मेरो विद्यालयमा अनि विश्वविद्यालयमा
कुनै भातृसंगठनको सदस्य नभएकै कारणले
म अछुत बनाइन्छु भने
दल नमिलेकै भरमा, फोन नआएकै भरमा
निरन्तर पछारिइरहन्छु भने
म त्यो लोकतन्त्रको नाम बदल्न चाहन्छु ।

मासु र भातमा
मदिरा र मातमा
अनि चिल्ला बातमा
भोकमा, लोभमा र पापमा अचेत अनि विचेत भएका 
मेरा दाजुभाइ र दिदीबहिनीहरू दिउँसै बिक्छन् भने
चार साधुलाई पाँच चोरले जित्छन् भने 
म त्यो लोकतन्त्रको नाम बदल्न चाहन्छु ।
( २०७३ माघ ८ काे बाह्रखरीमा प्रकाशित http://www.baahrakhari.com/news-details/15861/2017-01-21 )

Monday, January 16, 2017

जुनेद जमशेद

साठीको दशकमा कराचीमा जन्मेका
जुनेद जमशेदको सानैदेखि गीतसंगीतमा रूचि थियो । एयरफोर्सका पाइलटका छोरा फेशन र गीतारका शौखिन जमशेदले इञ्जिनियरिङ पढे तापनि असीको दशकमा "भाइटल साइन" भन्ने ब्याण्डको सदस्य हुन रूचाए । भाइटल साइनको 'दिल दिल पाकिस्तान' भन्ने गीत बीबीसीको सर्वकालिन उत्कृष्ट १०मा पर्न सफल भएको थियो । नब्बेको दशकमा जमशेदका 'गोरे रंग का जमाना', 'तुम दूर थे' 'सावली सलोनी', 'नाराज तुम', 'उस राह पर' आदि गीतले तहल्का मच्चाए । युवाहरूका धड्कन बनेका जमशेदले धन र प्रसिद्धिको उचाइमा रहँदा २००४ ताक अचानक गीत संगीत छोडे, गीतार छोडे, जिन्स छोडे अनि इञ्जिनियरिङ पनि छोडे । उनले दाह्री बढाए, खद्दर लगाए, धार्मिक प्रवचन र धार्मिक संगीतमा मात्र संलग्न भए । खद्दरका कपडा बेचेर परिवार पाले । आफ्नो धर्मभित्रकै पनि अल्पसंख्यक समुदायका जमशेदलाई टीभीमा धार्मिक कार्यक्रम चलाउँदा बोलेको कुरालाई लिएर ईशनिन्दाको आरोप समेत लाग्यो । व्यापक बिरोध पछि उनले रूँदै माफी समेत माग्नु पर्‍यो । तैपनि उनी आफ्नो बाँकी जीवनभर धार्मिक समाजसेवामा संलग्न रहे । यस्ता जमशेदको हिजो (डिसेम्बर ७, २०१६ ) पीआईए ६६१ नं को हवाई उडान दुर्घटनामा निधन भयो । दुर्घटनामा परी निधन हुने सबैलाई सद्‌गति प्राप्त होस् ।

रहेनन् क.दी.


नेपाली भाषा, जर्नेल मदनशमशेर र रानी जगदम्बाका अनन्य सेवक कमलबाबु रहनुभएन । मदनपुस्तकालय, मदन तथा जगदम्बा पुरस्कार, जगदम्बा प्रेस, साझा प्रकाशन आदिमा कमलमणिको योगदान छ ।

कौण्डिन्यगोत्री आचार्य कुलमा जन्मेका यिनका बराजु शिरोमणिले वीरशमशेरका सहायतामा वाराणसीमा सोमयाग गरेपछि आचार्य दीक्षित वा आ.दी. लेख्न थालेका थिए । शिरोमणिका माहिला छोरा काशीनाथका जेठा छोरा राममणिका जेठा छोरा केदारमणिका माहिला छोराको रूपमा चन्द्रशमशेरको अन्त्यकालतिर जन्मेका कमलमणि आचार्य दीक्षितले भने नाम छोट्याएर कमल दीक्षित अझ क.दी. लेख्न थालेका थिए ।
लामो समयसम्म शासक र शासकका कुलको आश्रयमा बसेता पनि जुन अंशको नैतिकता र इमानदारी कमल दीक्षितमा थियो त्यो पनि नयाँ पुस्ताकाे लागि प्रेरणादायी छ ।
कमलबाबुको आत्मालाई शान्ति मिलोस् ।


गीतकाे वर्णभेद

आज  (२०१६ डिसेम्बर ३१) भरे कालीप्रसाद बास्काेटाको भव्य कन्सर्ट छ बेलुका पोखरामा, तर सबिन एकतारेलाई पोखरा आऊ भनेर हत्ते गर्ने साथी हुँदा पनि भोलि बिहानै जागिरमा दौडने पीरले आउन दिँदैन ! यहि हो फरक! एकपटक पढौँ तखल्लुस!

मेराे मतमा रचनाकार ।'लाइमलाइट'मा नहुनु साधारण जीवन बाँच्नु नै 'ब्युटी' हो तपस्या हो । गायक 'ग्ल्यामरस' हुन्छ, उसले पाएको वाहवाही बिलकुल 'डिजर्भिङ' हो । 

हरेक चीजको वर्ण हुन्छ मान्नोस् या नमान्नोस् रचनाकार ब्राह्मण हो उसले तपस्या गर्नुपर्छ, संगीतकार क्षत्रिय हो उसले राज गर्छ, गायक वैश्य हो उसले धन सम्पत्ति कमाउँछ, अनि वाद्यवादकहरू शूद्र हुन् जो दुई छाक खाएर कमिला सरी काम गर्छन् अरूकै लागि । यो वर्णभेद जन्मको हैन कर्मको हो । जति मीठा र गुलिया कुरा मुखले गरे पनि यो वर्णभेद कायमै हुन्छ ।




व्यंग्यचित्रकाे शक्ति

व्यंग्यचित्र शायद सबैभन्दा सशक्त माध्यम हो समाचारको, सूचनाको अनि विश्लेषणको । आज धेरैले न्यायको जीत भनिरहँदा केही प्रश्न सोध्न मनलाग्यो । के यो चित्रमा देखाइएका तलबाट उचाल्नेहरूले न्याय पाउनुपर्दैन? अझ माथिको त्यो अदृश्य हातवालाले न्याय पाउनुपर्दैन? के हाम्रो न्यायालय सक्षम छ? हामी जनता सक्षम छौँ? साँच्चैको जनता बन्न? साँच्चैको राष्ट्र बन्न? साँच्चैको न्यायव्यवस्था बाँध्न? नभए तिनै दृश्य र अदृश्य शक्तिका दास हाम्रालागि यो यौटा रून्चे पालाको पैँचो देखि के फरक भयो र?

Sunday, January 1, 2017

तन्ना मैलिएछ

म समयलाई चिन्दिन
म आफ्ना विचारपंक्तिलाई नियाल्छु
परिचित अनुहारहरू
अपरिचित भावहरू
अस्पष्ट आन्दोलित मुद्राहरू
तर किंकर्तव्यविमूढ चलिरहेछन्
समय बगिसकेछ
तन्ना मैलिएछ
.
असम्बन्धित अनियन्त्रित र छरपष्ट आशाहरू
सिरानीमा जिस्ता कागजहरू जस्तै थुप्रिएछन्
सुन्दर पुस्तकको कल्पना नगरौ
सामान्य बन्धनको पनि फुर्सत भएन
विश्वासका दुर्गहरू खण्डहरमा बदलिँदा
अक्षरहरूमा घोत्लिन खोज्दा नखोज्दा
दिनहरू र महिना पनि वितिसकेछ
तन्ना मैलिएछ
.
भएभरको साहस बटुलेर
जीवनकक्षामा एकाग्र हुन खोज्दा
भोलिबाट त अवश्य अध्ययनमा जुट्छु भन्दा
छेपाराको आहान भएछ
अध्ययनबाट विचलित हुँदा
सोचहरू खिइँदै गएछन्
तालको डुंगा पारी पुगिसकेछ
तन्ना मैलिएछ
.
ज्ञानलाई जोखेर प्रयोगमा उतार्न खोज्दा
आफ्नै विचारहरू धमिलिइसकेछन्
सोचको नदीमा बाँध बाँध्न नसक्दा
समयको वेगसँगै दगुर्न खोज्दा
लडेको म र मेरो मर्केको हात सुम्सुम्याउन खोज्दा
हिमाल पग्लिएछ
तन्ना मैलिएछ
.
मूल्याङ्कनको मापदण्ड बदलिँदा
गलत र सही दुबैले एउटै पछ्यौरा ओढेर आउँदा
शुभेच्छुकहरूको कुरै छाडौँ
आत्मीयहरूले समेत चिन्न गारो मान्दा
आँसु र हाँसोमा फरक नदेख्दा
आँखाहरू बेकम्मा भैसकेछन्
विचार नदी पनि सुकेछ
तन्ना मैलिएछ
.
चञ्चल चित्तमा जंजीर फसाएर
हिँड्ने अपाङ्गहरूलाइ थाहा छैन
चित्तविजयको आनन्द
स्वतन्त्र साँढे झैँ देखिनाले
बोलेको सत्य समेत
एक्ला बृहस्पति झुट्टा भएछ
मनको कलुष धुन पनि फुर्सद भएनछ
तन्ना मैलिएछ
Recitation of the Poetry @CafeKabita Pokhara

प्सिडोनेशनलिष्ट

धर्म मास्नि, भाषा मास्नि, अरू संस्कृति मास्नि अनि टोपी एउटा चैँ उकासे झैँ गर्नि त्यो नि जनवरी १ को दिन रोजेर, एस्ता जरो काटेर पाताँ पानी छम्किनिहरूलाई तिनैका भाषाँ "प्सिडोनेशनलिष्ट" भञ्चन् ।

धेरै पढिएकाे

पृष्ठ संग्रह