Thursday, May 11, 2017

रञ्जु दर्शना र नेपाली राजनीति


~शिव सङ्कल्प

हुन त यो लेख शुरू गर्नुभन्दा पहिला नेपालमा जेलाई ‘राजनीति’ भनिन्छ त्यसलाई ‘राजनीति भन्न मिल्छ वा मिल्दैन ?’ भन्ने प्रश्नलाई विस्तृत विवेचन गर्नु आवश्यक थियो, तर आज अर्कै प्रसङ्ग परेकाले त्यो विस्तृत विवेचनलाई थाति राख्दै लेख शुरू गरिन्छ । तैपनि छोटकरीमा यति चाहिँ भन्नै पर्छ कि दुर्भाग्यवश हाम्रो देशमा धेरै आन्दोलन भए, क्रान्ति भए, व्यवस्था परिवर्तन भए, विभिन्न कालखण्डमा विभिन्न प्रकारका युद्ध समेत भए, तर जेलाई राजनीति भन्नु पर्ने हो कम से कम निकट भूतकालमा यहाँ हुन सकेन । आजको मुख्य चुनौती भनेकै नामको राजनीतिलाई कामको राजनीतिमा पुर्याउनु हो ।



आजको प्रसङ्ग हो, यस्तै लक्ष्य बोकेकी रञ्जु दर्शनाको । रञ्जु दर्शनालाई मैले सर्वप्रथम चिनेको डा. गोविन्द केसीको आन्दोलनको समर्थन गर्ने व्यक्तिहरूको समूहमा हो । जम्मा अठार बीस वर्षकी मुडुलो कपाल भएकी कलिली युवतीको त्यो तहको जोश र जाँगर देखेर प्रभावित भएर मैले उनलाई सामाजिक सञ्जालमा पछ्याउन थालेको अझै दुई वर्ष पनि पुगेको छैन ।
हिजो आज उनको नाम पुनः एक पटक चर्चामा छ । कारण हो उनको दल विवेकशील नेपालीले उनलाई काठमाण्डौँ महानगरपालिकाको प्रमुखको उम्मेद्वारको रूपमा अघि सार्नु । हिजो आजका समाचारपत्रका शीर्षकहरू बनेका छन् ‘एक्काइस वर्षकी युवती काठमाण्डौँको मेयरको उम्मेद्वार’ भनेर । धेरै नचिनेकाहरूले पनि यसपालि उनको नाम सुनेका छन् । प्रशंसा पनि गरेका छन् । कतिलाई अचम्म लागेको छ कि यति सानो उमेरकी ‘कलिली केटी‘  कसरी उम्मेद्वार हुन सक्छिन् ? भनेर ।

रञ्जु दर्शना एउटी ‘कलिली केटी’ मात्र हैनन् । तिनीसित भएको सबैभन्दा ठूलो कुरा राजनीतिलाई बदल्ने लगन हो । तिनले देखेको सपना हो । तिनले आफ्ना सपनामा गरेको विश्वास हो । तिनले गरेको आफ्नै खाले संघर्ष हो । बिगारेर, भत्काएर, तोडेर, फोडेर वा जलाएर र चर्का नारा र भाषण गरेर चर्चामा आउन धेरै सजिलो र छिटो हुन्छ ।  निर्माण गरेर, चेतना फैलाएर, सहयोग गरेर चर्चित हुन कठिन र धेरै समय लाग्ने हुन्छ । टायर बाल्न छाडेर, फूल रोपेर राजनीति गर्ने रञ्जु दर्शनालाई यो कुरा राम्रोसित थाहा छ । उनले बाँचेको सामाजिक परिवेश र उनले देखेको भविष्यको सपना अधिकांश नेपालीको हो । तर उस्तै कठिन परिवेशमा रहेर उस्तै समृद्धिको कल्पना गर्ने अधिकांश नेपालीको र रञ्जु दर्शनाको लगन फरक छ । उनमा अठोट छ, उत्साह छ, विपरीत परिस्थितिमा जुध्न सक्ने क्षमता छ । रञ्जु दर्शनालाई थाहा छ कि समाजिक रूपान्तरण आजको भोलि हुने चीज हैन, यसकालागि निरन्तर र कठिन परिश्रमको आवश्यकता पर्दछ । उनलाई यो पनि थाहा छ कि विभिन्न पक्ष र विपक्षले उनलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा विभिन्न स्वार्थका लागि प्रयोग गर्न प्रयास गर्नेछन् । उनको उर्जालाई खण्डित र विचलित बनाउन प्रयास गर्नेछन् । उनलाई यो पनि थाहा छ कि यो निर्वाचनमा उनी निर्वाचित हुने संभावना पनि कम छ, किनकि उनीसँग चुनाव जित्न चाहिने पर्याप्त कार्यकर्ताहरू छैनन्, किनकि उनीसँग चुनावमा खर्च गर्न चाहिने पर्याप्त रकम पनि छैन, किनकि नेपाली जनताको सोच्ने शैली अझै पनि स्वतन्त्र र नयाँ हुन सकेको छैन । हो धेरैले उनलाई बधाई दिएका छन् । उनका खबरहरू धेरैले सामाजिक सञ्जालमा हेरेका छन्, धेरैले उत्साहजनक ‘कमेण्ट’ गरेका छन् तर ती अपर्याप्त छन् । धेरैले त बधाई दिएर पनि मत दिने छैनन् । नेपालमा अधिकांश शिक्षित भनिएकाहरू नै पनि स्वतन्त्र र नयाँ चिन्तन गर्न सामथ्र्य राख्दैनन् । तर पनि समाजलाई घच्घच्याउनको लागि पनि उनको उम्मेद्वारी आवश्यक छ । यसले रञ्जु दर्शना र मतदाता दुबैलाई अनुभवी र परिपक्व बनाउनेछ । यस्तो परिस्थितिमा रञ्जुले पाउने एक एक भोट पनि महत्त्वपूर्ण हुन्छ । मानिसहरूले जुन दिन साँच्चै रञ्जु दर्शनालाई चुन्नेछन् त्यो यसै अनुभवको जगमा हुनेछ ।


हाल रञ्जुले एउटा भाषणमा बोलेको वयोवृद्ध नेताहरू प्रतिको अपरिपक्व टिप्पणीले पनि सामाजिक सञ्जालमा चर्चा पाएको छ । एकातर्फ उनको यस्तो भाषण प्रतिको समर्थनले रञ्जुलाई पुरानै ढर्राको राजनीति गर्न उत्प्रेरित गरेको छ  भने अर्कोतर्फ यसप्रतिको दल विशेषसमर्थकहरूबाट आएको कडा प्रतिक्रियाले उनलाई निरुत्साहित पनि गरेको होला । हो, भाषणको शब्द चयनमा मर्यादित हुनु आवश्यक छ तर समयको कुनै कालखण्डमा विभिन्न खाले संघर्ष गरेका नेताहरू सत्ताको केन्द्रमा दशकौँ सम्म रहँदा पनि पुरानै संघर्षको ब्याज खाइरहने र उत्तरदायी हुनु नपर्ने कुरालाई कडा शब्दमा विरोध गर्नु पनि उत्तिकै आवश्यक छ  । अतः यस्तो कुरामा प्रबुद्ध व्यक्तिहरूले सन्तुलित रूपमा सल्लाह दिई रञ्जु दर्शनालाई मार्गनिर्देश गर्नुपर्छ ।

नेपाली समाजमा सचेत, सक्रिय, निडर, स्वतन्त्र र नैतिकवान् व्यक्तिहरू साह्रै दुर्लभ छन् । समाजमा अझै पनि अज्ञान, उदासीनता, डर, त्रास, लोभ वा पापकै बहुलता रहेको देखिन्छ । शिक्षित भनिएको समुदाय पनि दुर्भाग्यवश यिनै वर्गमा परेको छ । देशको नागरिक वा कुनै पेशाकर्मी हुनलाई समेत कुनै न कुनै शक्तिशाली दल वा त्यसका भातृसंस्थाको सदस्य बन्नै पर्ने भन्ने खालको मानसिकता देशमा व्याप्त छ । व्यक्तिगत रूपमा प्रस्तुत पंक्तिकारले पनि आफ्नो विश्वविद्यालयको प्राध्यापक संघमा स्वतन्त्र उम्मेद्वार हुँदा पाएको अनुभव पनि यस्तै छ । यसरी हाम्रो देशमा देशको समृद्धिको लागि आवश्यक स्वतन्त्र र विज्ञ पेशाकर्मीकै पनि अभाव छ । उपलब्ध अधिकांश पेशाकर्मीहरू पनि लोकतन्त्र र गणत्रन्त्रको यो चरणमा आइपुग्दा समेत पञ्चायत कालमा जागिर दिइएर राखिएका विज्ञहरू जस्तै नितान्त आफ्ना मालिकका इशाराको र आफ्नो नीजि भौतिक समृद्धिको मात्र चिन्तन बोकेका देखिन्छन् । समाजमा जो कोही पनि  स्वतन्त्र वा अनुभवी वा सत्यनिष्ठ वा कर्तव्यपरायण वा सेवा भाव बोकेको पेशाकर्मी वा साधारण नागरिक नै किन नहुन् यसरी नै परिवर्तनको पक्षपोषण गर्न उभिन सकेमात्र परिवर्तन संभव हुन्छ । रञ्जु दर्शनालाई यस्तै मान्छेहरूका साथ मात्र हैन स्वस्थ आलोचना पनि चाहिएको छ ।

नेपालको वर्तमानमा हरेक क्षेत्रमा हाल चलेको शक्तिकेन्द्र केन्द्रित परम्पराले पाइला पाइलामा प्रतिभा, ज्ञान, शीप र क्षमताको अपमान तथा सिद्धान्तहीन गुटबन्दी, भागबण्डा, अयोग्य र असक्षमहरूको पदस्थापना जस्ता विकृतिहरूलाई प्रश्रय दिएको छ । राजनैतिक दलको समर्थनको मापदण्ड समय समयमा बसबाट ओसारिएर सडकमा वा चौरमा थुपारिएको यौटा भीड वा अज्ञान, डर, लोभ र पापकै परिणाम स्वरूप खसेका मतले निर्धारण गरीरहेका छन् । शक्तिशाली दलको समर्थनमा लागेकै भरमा अन्यायपूर्ण सुविधा लिएकाको संख्या उल्लेख्य हुनु र त्यो भन्दा पनि खतरनाक त्यस्तै अन्यायपूर्ण सुविधा लिन लालायितहरूको संख्या अझ धेरै हुनुले यो दुश्चक्र तोड्न धेरै कठिन बनाएको छ ।

आधुनिक राजनीतिले यसलाई चिर्नै पर्छ । राजनैतिक दलहरू यसबाट मुक्त हुनै पर्छ । अन्यथा समृद्ध राष्ट्रको परिकल्पना परिकल्पनामै सीमित रहनेछ । यसको नेतृत्व रञ्जु दर्शना जस्तै युवाहरूले लिनुपर्छ ।  नेपालको राजनीतिमा, व्यवस्था परिवर्तनको आन्दोलन, क्रान्ति, प्रतिक्रान्ति र विद्रोहको जगमा उभिएका दलहरू छन् । यिनको नेतृत्व पनि तिनै आन्दोलन, क्रान्ति, प्रतिक्रान्ति र विद्रोहको नेतृत्व गरेकाहरूको हातमा छ । सामाजिक रूपान्तरण, नीति, निर्माण, भविष्यप्रतिको योजनामा आधारित दलहरू अग्रपक्तिमा छैनन् । नेतृत्वमा पनि यस्ता व्यक्तिहरू अग्रपंक्तिमा छैनन् । यसरी देशको समृद्धिको यो एउटा महत्त्वपूर्ण शर्तमा हामीमा चुकेका छौँ । यसको पूर्ति हरेक दलका धेरै ‘रञ्जु दर्शना’हरूबाट हुनुपर्छ ।

सामाजको रूपान्तरण सानो भन्दा सानो कुराबाट प्रारम्भ हुन्छ । जस्तै आफ्नो घरको फोहर सडकमा लगेर फालेर एक छिन घर सफा जस्तो त देखिन्छ तर यसले समाजमा फोहर नै फैलाउँछ । यस्तो गर्ने मानसिकता भएकाहरू आफ्नो नीजि समृद्धिको मात्रै वास्ता गर्नेहरू हुन् । यस्तै मानसिकता भएकाहरूले नै अवसर पाएमा ठूला ठूला अनियमितताहरू गर्दछन् । सरसफाइको चेतना आधारभूत चेतना हो । यो चेतना फैलाउनमा धेरै रञ्जु दर्शनाहरू र तिनका दलहरू लाग्नु पर्दछ । दैवी विपत्तिको अवसरमा सहयोग होस् वा भ्रष्टाचारको विरोध रञ्जु दर्शनाको सक्रियता प्रशंसा योग्य छ । राजनैतिक सूझबुझ पनि उनमा राम्रो देखिन्छ । कतिपयले उनको अनुभवहीनता र कलिलो उमेरलाई लिएर उनी यो तहको राजनीतिका लागि उनी तयार नभएको र उनको दलले उनलाई प्रयोग मात्रै गरेको भन्ने पनि प्रतिक्रिया गरेका छन् । तर उनको लागि यो राजनैतिक अनुभवको उत्कृष्ट शुरुवात हो भने एक्काइस वर्षको उमेर उमेर यस्तो अनुभवका लागि एकदम उपयुक्त उमेर हो । उनको दलले उनीमाथि गरेको प्रयोग पनि धेरैको आँखा खोल्न सक्षम उदाहरण हो । उनको उम्मेद्वारीले एउटा सकारात्मक तरङ्ग पैदा गरेको छ, जसले सदूर भविष्यसम्म असर पार्नेछ ।

अन्त्यमा, यो लेख रञ्जु दर्शना व्यक्तिविशेष र उनको दलविशेषको समर्थनमा लेखिएको हैन । यो लेख राजनीतिमा परिवर्तनको, युवाको रचनात्मक सहभागिताको र हरेक पेशाकर्मीको शक्तिकेन्द्रभन्दा पृथक् र स्वतन्त्र अस्तित्वको प्रतीक रञ्जु दर्शनाको पक्षमा लेखिएको हो । भोलि रञ्जु दर्शना राष्ट्रकै नेतृत्वमा पुग्दा वा अन्य राजनीतिकर्मी झैँ दलदलमै फसेमा समेत उनका सही र गलत कदमको निष्पक्ष आलोचना गर्नसक्ने जनसमुदायको चेतनावृद्धि र यो आलोचनालाई सकारात्मक रूपमा लिनसक्ने परिपक्व रञ्जु दर्शनाका पक्षमा लेखिएको हो ।

आशा गरौ नेपालको भविष्यको राजनीति यस्तै परिपक्व रञ्जु दर्शनाको साथमा अघि बढ्नेछ ।

No comments:

Post a Comment

धेरै पढिएकाे

पृष्ठ संग्रह