कृति: निरमाया (नाटक )
लेखक: सरुभक्त/निर्देशक: परिवर्तन
मञ्चनस्थलः गन्धर्वनाटकघर (पाेखरा थिएटर ) नक्शा
मितिः २०७५ पुस २७ देखि माघ १२सम्म
समयः अपराह्ण ४ः४५ (शनिबार अतिरिक्त शो)
अवधिः १ घण्टा ४० मिनेट
टिकटदर. रू. ३००/५०० (विद्यार्थीका लागि छुट)
गुणवत्ता: ★★★★★
"पाेखरामा उहिले उहिले नाटकहरू मञ्चन हुन्थे अरे । अचेल बन्द भए अरे । अब फेरी शुरू गर्न भनेर युवाहरू जुर्मुराइरहेका छन् अरे ।" करीब दुई वर्ष अघि पोखरामा यस्ताे सुनिन्थ्यो। यसै प्रसङ्गमा पोखराका युवा नाट्यकर्मी परिवर्तनसित मेरो एकपटक संवाद पनि भएको थियो । अहिले दुई वर्ष पछि त पोखरामा नाटक शुरु भएको पनि केही समय भैसक्यो । धेरै नाटकहरू मञ्चन पनि भैसके तर मलाई भने आज मात्रै नाटक हेर्ने मौका मिल्यो । उनैले निर्देशन गरेको सरुभक्तको 'निरमाया' ।
गुगल-नक्शाको सहायताले मैले गैह्रापाटनस्थित पोखरा थिएटरको गन्धर्वनाटकघर फेला पारेँ ।
साँधुरो बाटोमा ब्लकको गाह्रोको पर्खाल भित्र बाहिरबाट हेर्दा दु:खजिलो गरी बनाए जस्तो भवन । केही गाडी र मोटरसाइकलहरू चौरमा पार्किङ गरिएका भेटिए । मेरो मनमा यसै पनि अपेक्षा कम थियो त्यसमाथि पनि बाटोको भित्तामा "पोखरा थिएटर" लेखे पनि नाटकघरको भित्तामा "पोखरा थियटर" लेखेको देख्ता झनै आँखा बिझाएका थिए ।
बिस्तारै दर्शकहरू जम्मा हुन लागे । पाका दर्शकहरू जमानामा कल्पना सिनेमा हलबाट बज्ने 'रेकर्ड'को सम्झना गर्दै थिए भने युवा दर्शक र स्कूले नानी बाबुहरू पनि उत्तिकै उत्साहले पर्खिँदै थिए । अलिकति ढीला गरेर नाटक शुरु भयो । हामी भित्र पस्यौँ । नाटकका निर्देशक आँफैले हामीलाई बस्ने आसन देखाउँदै थिए । शायद अँध्यारोमा तिनले मलाई चिन्न भने चिनेनन् । भित्रको दृश्य र ध्वनि आकर्षक थियो । धमिलो प्रकाशमा पनि मञ्चको सज्जा आकर्षक लाग्यो । समग्रमा नाटकको मञ्चसज्जा, वेशभूषा, प्रकाश र ध्वनिव्यवस्थापन मलाई उत्कृष्ट लाग्यो । कलात्मक तरिकाले नाटक प्रारम्भ भयो ।
'निरमाया' नाटक मैले नपढेको हुँदा मेरालागि कथानक भने नौलो थियो ।
परापूर्वकालको गाउँको एक बिहान । पाँच पाँचवटा घरहरू लहरै हुँदा मञ्च साँघुरो अवश्य लागेको थियो तर अस्वाभाविक लागेको थिएन । घरको अग्लो र होँचोपन अनि जुटको बोरामा र प्लाईवुडमा गेरुलगाएर बनाइएका जस्ता मञ्चका सामग्री मलाई जीवन्त लागे । मञ्चको कुनामा बनाइएको सानो चौतारो र त्यसमाथि बनाइएको 'आँसी उद्याउनि ढुङ्गो' समेत चिटिक्क मिलेका थिए । गाउँको माथि डाँडामा हिँडेको जस्तो देखिने गरी मञ्चको पृष्ठभागमा बनाइएको मचान उत्कृष्ट लाग्यो । (यो के हो बुझ्न तपाईँलाई नाटक नहेरी सुख छैन।)
नाटकमा अभिनय गर्ने पाका र युवा सबै कलाकारले आफ्नो भूमिकालाई न्याय गरेका थिए । डम्बरे बनेका प्रकाश घिमिरे त चिनिएका सशक्त अनुहार भैहाले, बाटुली बनेकी प्रमिला तुलाचनको भावभङ्गी र संवाद पनि धेरै सशक्त लाग्यो । एउटा नि:सन्तान सौताने आमाले आफ्नो सौताको छोराप्रति गर्ने कठोरता र स्नेह आफ्नो अभिनयमा सङसङै एकैपटक जीवन्त रूपमा पोख्न सक्नु उनको ठूलो खुबी हो । नाटकको नायक गोरे बनेका रेवान राईको भूमिका अधिकांश समय 'विचरापात्र' जस्तो भए पनि अन्तिममा क्रान्तिकारी चरित्रमा पनि उत्तिकै सुहाएको थियो । मनीषा थापाको बालसुलभ चञ्चलता, अञ्जु दाहालको निर्दोषपन अनि बबिता मल्ल ठकुरीको नवयौवनाका कटाक्ष र हाउभाउहरू मन हर्ने बनेका थिए । लाठे, बन्दुके र तमसुके बनेका कलाकारहरू कथाले मागे जत्तिकै छुचा र दुच्छर देखिएका थिए । जन्तीमा बाजा बजाउन आएका कलाकारहरूले समेत आफ्नो छोटो भूमिका बलियो गरी निभाएका थिए ।
नाटक हेर्नेका आँखा अत्यन्त चनाखा हुनुपर्दछ । किनभने यहाँ 'पज' र 'रिप्ले'को सुविधा हुँदैन । मञ्चको बीचमा रहेका पाका मान्छेहरूले सुन्तलीको बिहे छिन्दै गर्दा मञ्चको दायाँ र वायाँ आ-आफ्ना घरका पिँडीका खम्बामा अडेस लागेर लाज मानीरहेका सुन्तली र उसको हुनेवाला दुलाहाको उत्कृष्ट भावभङ्गी एकै पटक हेर्न उत्तिकै उत्कृष्ट कौशल चाहिन्छ । अझ सुन्तलीलाई पाउन नसकेको केटाको अर्को कुनाको भावभङ्गी समेत हेर्न त तपाईँ अझै चनाखो हुनु पर्दछ । प्रारम्भको दृश्य, गोरे र पातली अनि सुन्तली बीचका प्रेम र कलहका दृश्य, शुरवीरेलाई जबरजस्ती ल्याप्चे लगाउन लगाएको दृश्य अनि अन्तिम दृश्यले उत्कृष्टताको उच्चतम बिन्दु छोएका थिए ।
आञ्चलिक भाषा र शैलीको स्वाभाविक प्रयोगले पनि नाटकलाई धेरै सशक्त बनाएको थियो । यद्यपि कतिपय स्थानमा प्रयोग गरिएका मध्ययुगीन शैलीका गालीहरू सुन्दा भने कलिला दर्शकहरूको संवेदना सम्झेर एक छिन मेरो मन चसक्क भने नभएको हैन । छिटो छिटो चलीरहेको कथानकका बीचमा मञ्चको अग्रभागबाट नै नाटकका विशेष मोडहरूमा प्रत्यक्ष रूपमा बजाइएको सारङ्गीको धुन उत्कृष्ट थियो । तर परिस्थितिको भावनाको अनुकूल कतिपय स्थानमा यो अझै लामो समय बज्नु पर्थ्यो जस्तो भने लागीरह्यो ।
नेपथ्यमा रहेको 'सेतो घर' निवासी 'मालिकले 'अनारभन्दा सुन्तला स्वादिलो' भन्ने ठानेको सन्देश सुनेपछि नै मैले नाटकको मर्म पहिल्याएको थिएँ । तरपनि करीब एकसय मिनेटको समय एकछिन पनि पट्यारलाग्दो भएन । नाटकले क्षणिक रूपमा खुसी र हास्य पस्किएको भए पनि मुख्यत: यसले दर्शकहरूलाई पीडामा र करूणरसमा नै डुबाउन सफल भयो । मध्ययुगीन समयका शोषक र सामन्तले गरेका निर्धन र असहायहरू प्रतिको अत्याचार र त्यस विरूद्धको प्रतिकारको जीवन्त कथाका रूपमा रह्यो 'निरमाया' ।
बालक कालमै प्रज्ञाका प्रचण्ड मल्ल, सर्वनामका अशेष मल्ल र सुनील पोखरेल, मिथिलाका महेन्द्र मलङ्गिया अनि भारतको राष्ट्रीय नाट्य विद्यालयका नाटकहरू हेर्ने मौका पाएको मलाई, यो नाटक ती नाटकहरूभन्दा कुनै पनि दृष्टिकोणले कमजोर लागेन । बरू धेरै ठाउँमा अझै सशक्त नै लाग्यो । यो नाटक एक पटक हैन पटक पटक हेरे हुन्छ । मलाई यो नाटक हेरी सक्दा यसमा परिश्रम गर्ने सबैलाई र विशेषगरी प्रकाश परिकल्पना र व्यवस्थापन गर्ने दिलप्रसाद गुरूङलाई सलाम गर्न मन लाग्यो ।
नाटक सकिए पछि बत्ति बल्यो । कलाकारहरूले आ-आफ्नो परिचय दिए । पालै पालो सबै दर्शकहरू बाहिर जान लागे । मैले भने एकछिन पर्खेँ अनि निर्देशक परिवर्तनलाई अङ्गालो हालेँ ।