Friday, January 11, 2019

घन भिन्दै चक्कर भिन्दै (कृति समीक्षा)



~शिव सङ्कल्प 

कृति: घनचक्कर (उपन्यास)

लेखक: सञ्जीव उप्रेती
प्रकाशक: अक्षर क्रिएसन्स
पृष्ठ: ३०८
मूल्य: रू. ३२०

गुणवत्ता: ✘✔✔✔✔



घनचक्करको पहिलो संस्करण छापिएको कहिले हो नयाँ संस्करणमा उल्लेख छैन । नयाँ सस्करणको पहिलो मुद्रण भएकै ६ वर्षभन्दा बढी भएछ । नाम सुनेको र पढ्न मन लागेको कृति भए पनि पढ्ने मौका जुर्दासम्ममा उज्यालो कागजमा छापिएको संस्करण अप्राप्य भैसकेछ । पहेँलो कागजको संस्करणमा नै चित्त बुझाउनु पर्‍यो ।  पुस्तकका लेखक सञ्जीव उप्रेती भोलि (पुस २८ गते)  र्‍याण्डम संवाद गर्न पोखरा आउने कार्यक्रमको निम्ता आयो । जान इच्छा भयो । उनका कुनै पुस्तकै नपढी त के कार्यक्रममा जानु भनेर पोखराको नयाँसडक स्थित हिमालयन रिडर्स कर्नरबाट अस्ति पुस्तक ल्याएँ ।अहिले बेलुका आठ बजे शुरू गरी पौने एघारबजे पुस्तक एक आवृत्ति पढेर भ्याएँ । निद्रा नलागेका सुरमा यसबारे टिप्पणी पनि लेखेरै सुतौँ भनेर यो टिप्पणी लेख्दैछु । भोलि चर्चामा त जानु त छँदैछ । 

घनचक्कर चल्तीकै शब्द हो । पागल वा घामट अर्थमा । कथामा सुललितता खोज्नेलाई यो पुस्तक हैन । यो पुस्तक पढ्न आँफैमा अलिकति घनचक्कर नभै सुख छैन । उपन्यास लेखकको आत्मकथा जस्तो प्रारम्भ हुन्छ ।  लेखक त्रिविका प्राध्यापक हुन्, उपन्यासको मुख्य पात्र 'म' पनि । तर त्रिविमा न त पुस्तकको शुरूमा भनिएको जस्तो नेपाली सांस्कृतिक अध्ययन विभाग छ न त अन्त्यतिर भनिए जस्तो अंग्रेजी सांस्कृतिक अध्ययन विभाग नै । तर आत्मकथा आफूले भोगेका तथ्य मात्रै हैनन् आफूले कल्पना गरेका तथ्य पनि हुन् र वास्तवमा भोगेको भन्नु र कल्पना गरेको भन्नु खासै फरक छैन । तसर्थ यो उपन्यास कम्तिमा मेरा लागि आत्मकथाकै कोटीको छ । 

'पागलपनका प्रथम लक्षणहरू' ममा पनि धेरै पहिले देखा परेका हुन् । हाल सार्वजनिक जीवन यापनमा प्रत्यक्ष बाधा नभए पनि जब जब यस्ता कृति पढ्छु  मेरा लागि सर्पले सर्पले खुट्टा देख्छ भनेजस्तो भाव आउँदो रहेछ । मैले 'पूर्वेली मिथकहरूमा अवतार' पढाउनु पर्दैन न त ' विश्वव्यापीकरण र अन्तहिन खोज' नै तर पनि मैले पढाउने औषध विज्ञानमा पनि यी दुबै कुरा कता कता गाँसिएर आउँदा रहेछन् । हाम्रो विश्वविद्यालयमा उत्तरपुस्तिका पुनर्परीक्षणको पनि व्यवस्था छ तसर्थ यहाँँ 'रङ्नाथ पुडासैनी'हरू पुनर्परीक्षणको हैन अवलोकनको माग गर्छन् ।

खोज, थाहा र बुझ । यी महावाक्यहरू नै हुन् । 'बोरा आतङ्क'ले पीडित मजस्ताले यी महावाक्यका आदेश पनि तिनै बोरामा खोज्नुपर्छ न कि 'रूखका पारी पट्टी भएका शीतका थोपामा'। शायद राममान दाईको 'हिमाली मलम'ले पनि त्यसै भएर सम्पूर्ण रोगको 'निदान' त गर्छ तर निवारण गर्न सक्दैन ।  पाठकका आखाँ 'पिलिकपिलिक बल्ने पेनटर्च' झैँ तीव्र छन् । धेरै ठाउँमा आँखा चिम्ले पनि  'फ्' हुनु पर्ने ठाउँमा 'मुद्रा राक्षस' ले  पटक पटक 'रू' हुँदा भने ती आँखा बिझाउँछन् जसरी एकै पंक्तिमा 'वितण्डा'को ण र 'भागबन्डा'को न देख्दा पुराना र नयाँ व्याकरणसित निरपेक्ष रहँदा पनि आँखा धमिलाे र जिब्रो अमिलो हुन्छ ।

दिलवरनाथ जोगीका असम्बन्धित लाग्ने भविष्यवाणीको रहस्य र फ्रेन्ज राइनरले गरेका उपत्यकाभित्रका शक्तिको नापतौल पत्ता लाग्दा नलाग्दै म युवाबाट अधबैंसे हुन्छु । क्षमा गर्नुहोला किशोरबाट युवा हुन्छु ।म मोटरसाइकल चढ्दिन । म पैदल हिँड्छु । मेरी वेदिका कार हैन स्कूटर चढ्छिन् ।  शायद बटुका लिएर गल्ली गल्ली हिँड्न पर्ने छैन उनलाई ।  मेरी नानू अहिले १६ महिनाकी भइन् विस्तारमा कथा हाल्न त सक्दिनन् तर उनकाे कथामा पनि 'दुष्ट राजा' छ, उनलाई मन नपर्ने 'गुडिया' हो त्यो ।  उनले माया गर्ने जीवहरूको नाम 'याहु' र 'गुगल' हुनेछैन । शायद 'फेसबुक' र 'ट्विटर' पनि नहोला तर 'टिकटक' र 'इन्स्टा' या यस्तै अरू केही हुन भने बेर छैन ।  उनका बाका पुस्ताकाहरू 'प्याजका धरहरा'का प्रशिक्षणमा 'गुच्चा खेल्नमै' व्यस्त छन् । तैपनि पूर्णिमाको कुनै रात किरातेश्वरमा 'सुशील गर्तौला' सुनाउन लानेछु म उसलाई । चाहे शिवको भजन होस् या चाहे अरू कसैकै, आशा छ उनले पनि अनहद्नादको झल्को पाउने छिन् ।

फिरन्ते जोगीको जीवन रमाइलो हुन्छ । हरेक दिनको आहारा दैवले जुटाउँछ । र परिश्रमीको जीवन पनि, जसरी कालु रिक्सावाल परिश्रमसित पेट पाल्छ । तर जोगीले उत्तरतिर जाने सपना देख्छ, कालु रिक्सावालले देख्दैन, ऊ पाटीमै लठेब्रीसित सुत्छ । अघिल्लो खालेे जीवन मैले पनि जीवनको करीब छ महिना बिताएँ । स्वर्णीम समय थियो त्यो । नारायणदत्त श्रीमालीको सम्मोहनशास्त्रको ठूलो प्रभाव थियो म फिरन्ते साधक हुनमा ।  तर पछिल्लो खाले जीवन भने त्यसपछि करीब १६ वर्ष विताउन प्रयास गरेँ तर खै के ? खै के? भनेजस्तै छ जीवन ।

गैरीधाराको सरस्वतीथान वरिपरि खेलेर म पनि हुर्केको हुँ जहा उतिबेला खेतै खेत हुन्थे अहिले चम्किलो विज्ञापनका बोर्ड राखिएका अग्ला घर होलान् । अग्ला टावर होलान् । जो कालान्तरमा ढल्लान् पनि । र, टावरहरू ढल्नलाई वा ढालिनलाई नै बनाइन्छन् होला पनि । तर हरेक पटक हामी नयाँ टावर बनाउन जुट्छौँ, चाहे त्यो ढल्दा त्यसले हामीलाई पनि किन नकिचोस् । अनि हरेक पटक त्यो अलौकिक ऐना पनि झर्‍यामझुरूम हुन्छ,  आफ्नो स्वरूप जान्नै नपाउँदै । दुर्भाग्य!  बिग्रेका काङ्ग्रेस र बिग्रेका कम्युनिष्टले यो कुरा कहिल्यै बुझ्ने छैनन् । 

अन्त्यमा, सक्कली दिलवरनाथको कान चिरेको होला नक्कलीको कान चिरेको नहोला । यसले फरक पर्दैन । यसका 'राजनैतिक', 'मनोवैज्ञानिक', 'अस्तित्वपरक' र भौतिक' कारणहरू खोतलेेेर बुझेे प्रष्ट भैहाल्छ । किनभने 'इलायची' हैन 'अलैँची' हालेको चिया खाएको र 'मर्फी रेडियो' नसुने पनि त्यसको अवशेष देखेको मान्छे हुँ म ।

'घनचक्कर' पढ्नुपर्ने पुस्तक हो । यो कुरा तपाईँले 'पाइलेट पेनको कालो मसी'ले 'नीलो नोटबुकका सफा पाना'मा लेखेर राखे हुन्छ । 




No comments:

Post a Comment

धेरै पढिएकाे

पृष्ठ संग्रह