धेरै पहिलेको कुरा हो । त्यो बेला निःशब्दशमशेर थिएन । सिरियल किलर पनि थिएन । केवल अनिद्रा थिई । अनि थियो त एक पागल । पागल अर्थात् प्रेमी । प्रेमी अर्थात् कवि । कवि अर्थात् तीर्थयात्री । अर्थात् सबै थोक । अनि त्यो संसार, जहाँ ती दुई थिए । अर्थात् बाथटब थियो ।
अनिद्रा निःशब्दको स्टेनो हुनुभन्दा धेरै अगाडीको कुरा । एक साँझ ऊ र म फेवा किनारमा बसेका थियौँ । रेष्टुरेण्टको ब्ल्याक कफी मन नपराएर हैन । तालमा डुब्दै गरेको सूर्य मन पराएर । मैले रामकृष्ण परमहंस र शारदा माताको कथा भन्दै थिएँ ।
"रामकृष्ण परमहंस खानाको अति शौखिन । शिष्यहरूलाई उपदेश दिईरहँदा पनि 'खाना पाक्यो ? आज खानामा के छ?' आदि भनेर सोधीरहने ।
'परमहंस भैसकेका व्यक्तिबाट यस्तो भौतिक आशक्तिपूर्ण कुरा हुँदा अपयश भयो' भनेर शारदा माताले भन्दा रामकृष्णले भन्नुभयो 'जसरी नदी किनारमा पुगेको डुंगालाई बग्नबाट बचाउन डोरीले किनारमा बाँध्न आवश्यक हुन्छ । उसै गरी मेरो आत्मालाई शरीरमा रोकी राख्न पनि कुनै न कुनै भौतिक डोरीको आवश्यकता छ जो भोजनको रूपमा रहेको छ ।'
नभन्दै जुन दिन शारदा माताले रामकृष्णलाई खाना लैँजादा रामकृष्णले मुख अर्कै दिशातिर फर्काउनुभयो, त्यो दिन रामकृष्णको देह छुट्यो ।"
यो रामकृष्णको कथा थिएन । मेरो आफ्नै कथा थियो । अनिद्राको आफ्नै कथा थियो ।
'हो हामीलाई यस्ता कथा मन पर्छ' अनिद्राले भनी । म भने अनिद्राको मुडुलो टाउको हेरीरहेको थिएँ । अनिद्राको मुडुलो टाउको मलाई मन पर्छ । यो टाउको भएर मात्रै मन परेको हैन । उसको कपाल लामै भए पनि मलाई मन पर्छ । एकदिन उसले आफ्नो लामो कपाल काटेर मलाई दिई । जुन दिन म अनन्त तीर्थयात्रामा हिँडेको थिएँ । उसले मलाई कवि भन्छे । तर म कहिल्यै कवि हुन सकिन । स्रष्टा हुन सकिन । स्रष्टा हुने कुशलता ममा कैल्यै आएन । म फगत् एउटा पागल अनुवादक मात्रै बनेँ । देवकाेटा भन्दा कमजाेर । नगरकोटी भन्दा कमजोर । घिमिरे युवराज भन्दा कमजोर । नगरकोटीले मेरो कथालाई अक्षरमा अनि घिमिरेले नाट्यमा सृष्टि गरे । मैले आफ्नै कथा भन्नलाई कुमार र युवराजको मद्दत लिनुपर्यो । जहाँ तिनीहरूले मलाई मञ्चमा देखाएनन् ।
मेरो आफ्नै नाटकमा मेरो भूमिका दर्शकमा सीमित भयो । त्यसमाथि आफ्नै कथा हेर्न पनि मैले कसैका आँखा सापटी लिनुपर्यो । ती आँखा पनि आफ्नै आँखा रहेछन् भन्ने बोध भए पछि बल्ल मेरो चित्त शान्त भयो । म एकचित्त भएर नाटक हेर्न लागेँ । मलाई बत्ती मन पर्यो । मलाई नेपथ्यमा बजेको धून मन पर्यो । मलाई झूल मनपर्यो, मलाई नीर शाहको कोट अनि ब्रजेशको रिभाल्भर मन पर्यो । मलाई भूषिताको मुडुलो टाउको मन पर्यो । मलाई घिमिरे युवराजका जुङा मन पर्यो । मलाई नगरकोटीको बोके दारी मन पर्यो । मलाई बाथटब मन पर्यो ।
दर्शकदीर्घाको अन्त्यतिर अध्यारामा पनि कालो चश्मा लगाएर एकजना वयोबृद्ध बसेका थिए । हातमा बज्रयोगिनीको खजानाको पोको बोकेका ती बुढाले नगरकोटीको मुडुलो टाउकोमा ट्वाङ्ग हान्दै भने ’तिमीले कवि बनाउनु पर्ने मेरो छोरालाई किन सिरियल किलर बनायौ?
'म लेखक हैन निःशब्दशमशेर हो लेखक ।जसलाई जे बनाउनु छ उसैले बनाउँछ । '
नगरकोटीले प्रतिवाद गरे ।
'यसको लेखक निःशब्दशमशेर हैन । म हुँ तर मैले अनुमति लिएर नै ब्रजेशलाई सिरियल किलर बनाएको हुँ । शायद अनुमति दिँदा उनी बेहोशीमा थिए ।'
मैले अहंतापूर्वक बीचमै कुरा काट्दै भनेँ ।
बुढाले पत्याएनन् ।
'जो लेखक भए पनि हाम्रो जीवनसित खेलबाड गर्ने तिमीहरू को हौ?' मञ्चबाट ब्रजेश कुर्ले । 'म साधु हुन चाहन्छु । म यो बन्दुक पनि फ्याक्न चाहन्छु । मेरा पनि आफ्ना इच्छा छन्' तिनी भन्दै थिए ।
'तिमी मैले जन्माएका पात्र हौ तिमीले मैले चाहँदा जन्मनु पर्छ र मैले चाहँदा मर्नु पर्छ । तिमी सिरियल किलर हौ । आफ्नो भूमिकामा बस, घरीघरी बाथटबबाट ननिस्क ।' नीर शाहले भने ।
नगरकोटी र म मुसुमुसु हाँस्दै थियौँ ।
दर्शकदीर्घामा मेरो चित्त शान्त भएन । मैले भेष बदलेँ । म बाथटब घुमाउने भूमिका पाएका कलाकारको शरीरमा मञ्चमा पसेँ । नगरकोटीले चाल पाएनन् । घिमिरे युवराजले पनि चाल पाएनन् । भूषिताले चाल पाइन् । उनी मुसुक्क मुस्काइन् । तर उनका हातहरू निःशब्दशमशेर उर्फ नगरकोटी उर्फ घिमिरे युवराजका हतकडीले बाँधिएका थिए । उनले मलाई अङ्गालो हाल्न सकिनन् । एकैछिन पछि मैले चाल पाएँ । त्यो हतकडी बाँधिदिने त म नै रहेछु ।
निःशब्दशमशेर उर्फ नगरकोटी उर्फ घिमिरे युवराज उर्फ मेरी बँधुवा मजदूर बन्न बाध्य तिनले मलाई देखेर पनि नदेखे जस्तै गरिन् । मैले बाथटब घुमाएँ । एकै छिनको लागि मेरो भूमिका समाप्त भयो ।
म पुनः दर्शकदीर्घामा बसेँ । मेरा आँखा मेरो छेवैमा बसेको भूषितालाई अपलक हेरीरहेको लामो दारी र घोचक आँखा भएको बुढासित जुधे । बुढाले मतिर हेर्दै हिन्दीमा भन्यो~
'जिंदगी एक नाट्य है, जिस में निर्देशक भी तुम, कथालेखक भी तुम, अभिनेता भी तुम, मंच भी तुम, मंच पर टंगे पर्दे भी तुम और दर्शक भी तुम...'
यसपटक पनि उसका आँखा अपलक थिए ।
'म मौनतामा अल्झीरहेको यौटा जीवन... ...' मञ्चबाट भूषिता गुनगुनाहट सुनियाे ।
भूषिता अब बल्ल अनिद्रा भई । ऊ नाच्न थाली । उसका हस्तमुद्राहरूले उसलाई कवि बनाए । हतकडीहरू गले । टाइपराइटरका कीहरू भाँच्चिए । अनौठो मर्त्यसंगीत पऽर नेपथ्यमा बज्न थाल्यो । ऊ प्रकृति भई । रजोवती भई । उन्मत्त भई ।
अबको नयाँ संसर्ग पछि अनिद्रा गर्भवती हुनेछ र भ्रूणलाई बाथटबमै आरोपित गरिदिनेछ । शायद त्यही बाथटबबाट भविष्यको कथानकमा नयाँ मोडको जन्म हुनेछ ।
एकै छिन फेवा किनारमा बसे पछि हामी फर्क्यौँ। पोखरा विमानस्थल पछाडी हामीले बाटो भुल्यौं । धेरै घुम्तिपछि रातो पहिरो जाने बाटो देखियो । अर्थात् अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय आइपुग्यो । अनिद्राले स्कूटरमा ब्रेक लगाई ।
प्रेमी अब सिरियल किलर भैसकेको थियो । अनि सिरियल किलर पुन: एक प्रेमी । उसले आफ्नो उज्यालो रिभाल्भर अनिद्रालाई थमायो र आफ्नै मर्त्यलोकका वाद र विवादका चिहानमाथिको दशगजामा ओर्ल्यो । धेरै पछि उसले सुन्यो कि अनिद्राले उचित समयमा रिभाल्भरको सदुपयोग गरी ।
'प्रकोपमूर्छिता चिता कराल सुन्दरी तिमी
निशुम्भ, शुम्भ डाक्तछ्यौ ? प्रचण्ड, चण्ड, मुण्ड के ?
लगाइ रुण्ड मुण्ड के छछम् छछम् धिधिक् धिधिक्
धपक्क बल्न इच्छियौ ? जमीन डग्डगाउँँदै ?'
ढ्याङ्ङ्ग... ढ्याङ्ङ्ग... ।
म ढलेँ ।
कथा चलायमान छ । यो कथालाई भौतिक संसारमा बाँधीराख्न डोरी चाहिँदैन । अर्थात् डोरी अदृश्य छ ।
यो मेरो कथा अनादिकालदेखि लेखिँदै आयो । यसलाई वाल्मीकिले लेखे । आन्द्रे ब्रेतोँले लेखे । देवकोटाले लेखे । नगरकोटी र घिमिरे युवराजले लेखे । अनि आज मैले फेरी लेखेँ ।
बाथटब पहिलो कथा हो । बाथटब अन्तिम कथा हो ।
यसपछि मेरो मृत्यु भयो ।
रसो वै सः ।
-------------------------------------
कृति: बाथटब (नाटक )
लेखक: कुमार नगरकाेटी
निर्देशक/परिकल्पनाकार: घिमिरे युवराज
मञ्चनस्थलः गाेठाले नाटकघर (शिल्पी थिएटर)
मितिः २०७५ माघ १० देखि माघ २८ सम्म
गुणवत्ता: ★★★★★
(चित्रहरूः शिल्पी थिएटरकाे फेसबुकबाट )
No comments:
Post a Comment