खोल्साको किनारमा
टुक्रुक्क बसेको पुरानो तगाराले सोध्यो
'भीरमा पखेरामा
भ्याकुर नाचेको मात्रै हैन
गाउँमा मोटर अनि
पानी पनि उकालियो हैन र?

आधा बाँझो अनि आधा
तोरि फुलेको पाखाले सोध्यो
'गाउँमा चाउचाउ र विखालु पेयको
विक्रि मात्रै बढेको हैन
यहाँका साग सिस्नो यहीँ चिस्सिएर
आँटो पिठोसितै शहर छिर्न थाले हैन र?
बाख्राले बुत्रुक्क उफ्रदै
म्याँ गरेर सोध्यो
'मेरा साथी ती किसानको
छोराछोरी पनि
म जस्तै बुर्कुसी मार्दै
पाठशाला दगुर्दै छन् हैन र?'

देउरालीको पुरानो ढुङ्गाले
खु:इय्य गर्दै सोध्यो
'बलिया बाङ्गाहरू परदेश
अनि बजार छिरेका मात्रै हैन
लेखे पढेका अनि जोश जाँगर भएकाहरू
गाउँ फर्किएका पनि हुन् हैन र?'
'हो त है?' भन्दै
लिप्यानी अनि देउरालीको सेरोफेरो घुमेर
स्याक्लुङ कोटअनि रामकोट उक्लेपछि
इन्द्रगुफा घुमेर औतारीमाइलाई ढोगेपछि
एउटा परदेशीले हंसपुरेलाई सोध्यो
'त्यसो भए म हंसपुरमा छु हैन र?'
२०७६ फागुन १७, हंसपुर अक्षरयात्रा
चित्रहरू:स्वयं, हंसपुरको सेरोफेरो
No comments:
Post a Comment