Monday, December 1, 2025

तोरकीनमा हराएका क्षितिज

 २०८२ कार्तिक २९ गते शनिबार,  हिमालयन रिडर्स कर्नर, पोखरामा आयोजित र्‍यान्डम रिडर्स सोसाइटी अफ नेपालको पुस्तक चर्चाका लागि लेखिएको अवधारणापत्र । 


1.    तोरकीनमा प्रवेश

कथाकार, कवि, गजलकार र गीतकारको परिचय बनाएका क्षितिज समर्पणको पहिलो औपन्यासिक कृति हो तोरकीन । तोरकीन उपल्लो मुस्ताङमा प्रचलित ल्होवा भाषाको शब्द हो । ल्होवा भाषा भनेको भोट भाषाकै उपल्लो मुस्ताङमा बोलिने स्वरूपको नाम हो । तोरकीनको शब्दार्थ यो हो भन्न त सरल होला तर यो शब्दले बोकेको गूढार्थ बुझ्न एकपटक उपन्यास पढ्नै पर्ने हुन्छ । तोरकीन उपल्लो मुस्ताङको हराउँदै गएको  भौगोलिक स्वरूप, जीवन, संस्कृति र मानवीय सम्बन्धको कथा हो। यो उपन्यास केवल एक स्थानीय प्रेमकथा मात्र होइन, बदलिँदो समय, जलवायु, सभ्यता, परिवेश र पहिचानको अभिलेख हो। लेखक क्षितिज समर्पणले क्षितिजमा देखिने हिमालभन्दा पनि पारी रहेको गाउँको रूपान्तरणलाई यति संवेदनशील ढंगले उतारेका छन् कि उनको स्थानीय जीवनको कथा भन्ने शिल्पप्रतिको समर्पणको जो कोही पनि प्रशंसक हुन बाध्य हुन्छ । तोरकीन पढ्दै गर्दा पाठकले पाठकले आफ्नै आँखाले हिमाल पग्लँदै गएको, बस्ती खाली हुँदै गएको र मानिसको अन्तरात्मा थाक्दै गएको दृश्य देख्छ।

2.    चराङको छेवाङ

कथाको केन्द्रमा छन् चराङ गाउँका छेवाङ । उनको जन्मदेखि वयोवृद्घ अवस्थासम्मको कथा तोरकीनमा छ । छेवाङका बा आमा नामग्यालछुक्कीको प्रेमसम्बन्धदेखि नै कथा शुरु हुन्छ । पछि छेवाङको बा र आमासँगको सम्बन्ध, उसको बालसखा पेम्बासँगको बलियो मित्रता,  कुन्साङसँगको प्रेम र वियोग र उसले भोगेका नियतिका अनेक थप्पडहरू र विषम परिस्थितिमा विकसित भएको उसको मनस्थितिको विशद वर्णन नै तोरकीनको विशेषता हो ।  तोरकीनमा भूगोल,  इतिहास, संस्कृति, परम्परा र मनोविज्ञान सँगसँगै बग्छन् । मध्यान्तरसम्म कथाको प्रवाह सरल छ । ठुलो द्वन्द्व र मोड आउन्न कथामा । बाल्यकालमा छेवाङ र पेम्बा हराउँछन्, पाइन्छन् ।  घोडा हराउँछ, पाइन्छ । कुन्साङ हराउँछे, पाइन्छे । छेवाङ हराउँछ, पाइन्छ । कथाभन्दै जाँदा एकछिन चराङ र उपल्लो मुस्ताङ नै हराउँछन् र एकछिन कथा मलेशियाको पेनाङ द्वीपको कोन्तार शहरमा पुग्छ । हिमालदेखि धेरै तल घर भएको खुशीराम छेवाङको साथी हुन आइपुग्छ । तर यो धेरै समय टिक्दैन चराङ र उपल्लो मुस्ताङ फेरी पाइन्छन् । तैपनि मध्यान्तर पछिको कथा धेरै अरू कथा जस्तै निष्ठुरी छ। त्यसपछि पनि धेरै कुरा हराउँछन् ,  धेरै जना हराउँछन् तर पाइँदैनन् । पुस्तक नपढेका पाठकका लागि मध्यान्तर पछि के हुन्छ?  रहस्य नै राख्नु उचित हुन्छ । नियति र समयले अग्रगति लिन्छ । देश र काल पहिलेजस्तो रहँदैन । सुन्दर कुराहरू इतिहास बन्छन् । स्मृति बन्छन् ।

3.    रोम्बाले तोरकीन बुझ्छ त ?

तोरकीन बुझ्न मुस्ताङ बुझ्नुपर्छ। विशेष गरी उपल्लो मुस्ताङ । तोरकीन बुझ्न कालीगण्डकी र यसका सहायक नदीहरूको उद्गम र प्रवाहस्थल र तिनैका तटमा विकसित पुरातन सभ्यता बुझ्नुपर्छ ।  छुसाङ, समर, स्याङबोचे, घिलिङ, घमी, चराङ, र मराङहरू अनि अझै उत्तर तिरका ल्हो मान्थाङ,  छोन्हुप र छोसेरहरू  केवल गाउँहरू होइनन् । उपल्लो मुस्ताङको सभ्यताका धमनीहरू हुन् ।  अनि थुप्चेन गुम्बा, ल्हो घ्येकर गुम्बा, धोर्जेदेन गुम्बा, थुक्छिपे गुम्बा केवल धार्मिक स्थलहरू मात्रै होइनन्, समग्र सभ्यताका शिराहरू हुन् ।   यिनै धमनी र शिराहरूमा उपल्लो मुस्ताङको सभ्यताको रक्तसञ्चार हुन्छ । लेखकले यहाँको भूगोल, रहनसहन, जन्मभन्दा अघिदेखि मृत्युभन्दा पछिसम्म गरिने संस्कार, रीतिथिति, आस्था र विश्वासलाई अद्भुत सूक्ष्मतासँग समेटेका छन्। उपल्लो मुस्ताङको पोशाक र गहनाहरू फुजे-कोयो, तोचे, काउ, ल्हाम्डोक, केतेन, पाङदेन, छिरिङ किङ्गा र ओदोक बुन्न र उन्न प्रयोग भएका ऊनका रेशा रेशामा छिरेर ती लुगाहरू लगाउने पात्रहरूका मनोविज्ञानलार्इ लेखकले उधिनेका छन् । उपल्लो मुस्ताङका नुन-चिया, गहुँ, जौ उवाका सातु, ढिँडो, याक भेडाका सुकुटि छ्याङका थोपा थोपामा लेखक छिरेका छन् । हिमालय पारीका दुर्गम उपत्यकाका विशाल मरुभूमिका मरुद्यानका रूपमा यी गाउँहरूका आपसी सम्बन्ध र सङ्घर्षलार्इ लेखनले खोतलेका छन् । मुस्ताङका राजा र ठुलाबडाहरू कसरी बिष्ट र सर्वसाधारणहरू गुरुङ बने भन्ने इतिहास कोट्याएका छन् ।  समग्रमा विषम वातावरणमा शताब्दीयौँदेखि मानवले गरेका सङ्घर्षका कथा भनेका छन् ।

4.   लो बुझे तोरकीन बुझिन्छ  

तोरकीनका पाठकले उपल्लो मुस्ताङको प्राणहीन शरीरलार्इ प्रकृतिका कूचीकार गिद्धहरूलार्इ समर्पण गरिने परम्पराको सम्मान गर्नु पर्छ ।  ह्यार्का हालेर बिहे छिन्ने कुराको संवेदना  बुझ्नुपर्छ । यारतुङ मनाउँदै गरेका गाउँलेले तेम्देन माग्दा दिन जान्नु पर्छ ।  गर्भवतीका घर अगाडि राखिने ढुङ्गाहरूको सङ्केत बुझ्नुपर्छ । नामकरणको पद्धति बुझ्नुपर्छ । घरनिर्माणको पद्धति बुझ्नुपर्छ । घरबाहिर राखिने ल्हाजुको महत्त्व बुझ्नुपर्छ । धार्चेमा बाँधिएका धार्तरको रङमा मनको रङ मिसाउन जान्नुपर्छ ।  विशाल थाङ्कामा कुँदिएका बुद्ध, बोधिसत्व, धर्मपाल, यिदाम र रिम्पोचेहरूलार्इ चिन्नुपर्छ ।  लेखकले यी सबै सांस्कृतिक सम्पदाहरूलार्इ पात्रकै महत्त्वमा देखाएका छन् । काङलेन, ढुङचेन, ङा घ्यालिङका बाजाका तालहरू कथाभरि सुनिन्छन्। ती केवल कुनै वाद्ययन्त्रबाट निस्केका संगीत होइनन्, ती त भूमिकै र समयकै धड्कन हुन्। आदिम कालदेखि यी सबै एक विशिष्ट सभ्यताका अविच्छिन्न धरोहरका रूपमा रहेका छन् ।

5.   बहुपतिप्रथादेखि मिथ्याविवाहप्रथासम्म

तर समय त के बित्छ  र ? बित्ने त हामी हौँ भने जस्तो यो भूगोल, यो सभ्यता र यो संस्कृति क्रमशः कालको ग्रासमा पुग्दै गरेको यथार्थ त्यसपछि प्रकट हुन्छ । उपन्यासको सबभन्दा गहिरो तह यही हो। हिमालमा हिउँ  घट्दैछ । नदी र पोखरीमा पानी घट्दैछ ।  लेकमा यार्सागुम्बाजिम्बुहरू पाइन छोड्दैछन् । वनमा घाँस पाइन छाडेसँगै नाउरहरू पनि घट्दैछन् । नाउरहरू घटेसँगै चितुवाहरू गाउँ पस्न थालेका छन् र चितुवाले हानेर रित्तिएका च्याङ्ग्राका गोठहरू धेरै हिमाली गाउँका साझा कथा बनेका छन् । ट्र्याक्टर र जीपले घोडाझोपालाई विस्थापित गरिसकेका छन्। हिमालको परम्परागत बहुपतिप्रथा हट्दैछ । तर भौतिक सुखका लागि सम्पन्न देशको नागरिक बन्न गरिने मिथ्याविवाहप्रथा भने शुरु भएको छ । अब ल्होमान्थाङको तिजी पर्वमा नाचिने छम नृत्यको मुखुण्डो मुनि कुनै कुनै  युवती कुन्साङभन्दा कुनै अर्कै वयोवृद्ध कुन्साङ भेटिने संभावना छ । काङ्योर पूजाको रौनक पनि मुस्ताङभन्दा धेरै परका गुम्बामा खोज्नुपर्ने भएको छ। आम्चीका औषधिको प्रयोग र अनुसन्धान पनि हिमालमा भन्दा सातसमुद्रपारीका शहरमा हुन थालेको छ । अचेल घोक हाल्नलार्इ लेतोक भेटिँदैनन् बरु मोबाइल फोनका टावरहरू भने भेटिन्छन्।

6.    ॐ आः हुम्  वज्र गुरु पद्म सिद्धि हुम्

चराङका बासिन्दा, जो पहिले जोमसोम र पोखरा पुग्थे, अहिले मलेशिया र अमेरिकासम्म पुगेका छन्। यो मात्र रोजगार वा सुखको खोजी होइन, पहिचानको पलायन पनि हो। के यो जलवायु परिवर्तन पृथ्वीको स्वाभाविक बुढ्यौलीका कारण मात्रै हो वा यसलार्इ तीव्रता दिन तथा कथित सभ्य हुँदै गएको मानवजनित कर्म कारक हो ?  यो प्रश्न खुला छ । के कथाभरी आध्यात्मिक उपस्थितिका रूपमा रहेका गुरु रिम्पोचे पद्मसम्भवको प्रज्ञाले जलवायु परिवर्तनको यो राक्षस सिङ्-मोलार्इ अलिक पर लखेट्न सक्ला त ? कि उपन्यासका पात्रहरूद्वारा पटक पकट पुकारिएका, बज्रयानी बौद्ध दर्शनमा करुणा र दृढताका प्रतीक रहेका, हिन्दू दर्शनमा संहारका देव भनेर जानिएका कालका पनि काल महादेवकै स्वरूप महाकालको नृत्यकै रूपमा यो सबै भएको भनेर बुझ्नु पर्ने हो ?

7.    हिमालय सभ्यताको अन्त्य ?

आदिम कालमा वर्तमानको हिमालयक्षेत्र समुद्र थियो रे । यहाँ जलचरहरूको निवास थियो रे । कालान्तरमा यो भूमि बन्यो र थलचरप्राणी बस्न योग्य बन्यो रे । यसै विकासमा लामो समयसम्म मानवले यो क्षेत्रमा बसोवास गरे । शायद सुदूर भविष्यमा जलवायु परिवर्तनले ल्याएको वैश्विक उष्णताले एक यस्तो समय आउनेछ जब हिमालयमा हिउँ पूर्ण रूपमा विलुप्त हुने छ। नदीहरू सबै सुक्नेछन् । भूमध्यरेखाका आसपासका क्षेत्रहरू अत्यधिक उष्णताका कारण मानव बसोबासका लागि अनुपयुक्त हुनेछन् ।  मानवहरू हाल शीतको प्रकोप भएका उत्तरी ध्रुवका निकटवर्ती स्थान तिर सर्ने छन् । तर यो समयको विराट् चक्रमा हुनेछ । हजारौँ लाखौँ वा करोडौँ वर्षमा चल्ने यो चक्रको गति साधारण मानिसको एक दुर्इ पुस्ताले अनुभव गर्न सक्दैन । उसको आयु धेरै छोटो छ । उसले बोक्ने संवेदना धेरै सीमित छ । तर संभवतः छेवाङको कथा अर्थात् तोरकीनको कथाले समयको यही विराट चक्रको एक महत्त्वपूर्ण अध्यायको अन्त्य हुँदै गरेको कथा बताउँदैछ । हिमालय सभ्यताको अन्त्यको प्रारम्भको कथा ।

8.   समय, भूगोल, भाषा र भावना 

यस्तै सीमित समयमा सीमित भूगोलमा र सीमित संवेदनामा छेवाङको कथा बाँचेको छ, तोरकीनको कथा बाँचेको छ र छेवाङ र कुन्साङको प्रेममा हिमाल र हिमालपारिको मरुस्थलको नीरवता मिसिएको छ। बतासमा सन्देश पठाउने प्रसङ्ग, वियोगको वर्णन, र आत्मिक मिलनका क्षणहरूमा लेखकको कलम कवित्वमा रूपान्तरित भएको छ। कतै लेखक घट्टहरूले गरिबी र अभाव पिसिदिए हुने कामना गर्छन् त कतै मन त पग्लेकै राम्रो देखिँदो रहेछ र पग्लिनु भनेको रित्तिनु होइन भरिनु पो रहेछ भन्ने रहस्य बुझाउँछन् । उपन्यासको भाषा सजीव, चित्रात्मक र स्थानीय स्वादले भरिएको छ। उपन्यासमा उपल्लो मुस्ताङमा बोलिने स्थानीय भाषा ल्होवाका प्रशस्त शब्दावलीको प्रयोग गरिएको छ । पढ्दैँ जाँदा तिनै शब्दप्रति आत्मीयता बढ्दै जान्छ । प्रसङ्गले धेरैजसो शब्दको अर्थ लाग्छ ।

उपन्यासको अन्त्यमा दिइएको शब्दार्थसूचीमा पनि केही शब्दहरू समेटिएका छन् भने केही शब्दहरू पाठकलार्इ नै घोत्लिन छाडिएका छन् । समग्रमा भाषिक प्रयोगले नेपाली उपन्यासमा स्थानीय भाषाको सशक्त प्रयोगको परम्परा बलियो बनाएको छ। स्थानीय भौतिक बिम्बहरूलार्इ अभौतिक अवस्थाको वर्णन गर्दा प्रयोग गर्नु पनि लेखकको लेखनको विशेषता रहेको छ ।  उनका पात्रका अनुहारमा लाजका च्याङ्ग्राहरू ग्लानिको घण्टी बजाउँदै कुद्छन् , मायाको गहुँबालीमा धोकाका नाउरहरू छोड्छन् , कसैका आँखामा डर र बिलौनाका झोपाले सिङौरी खेल्छन् । उनको लेखनमा कामुक प्रसङ्गहरू छन् तर ती कलात्मक र मर्यादित रूपमा व्यक्त गरिएका छन्। पुस्तकको सुरु र अन्त्यमा चल्तीको फन्टको सट्टामा प्रयोग गरिएको पुरानो शीशा छापे अक्षरले पनि समय र स्मृतिको सौन्दर्यमा थप पत्र दिएको छ।

9.   तोरकीनका दुर्बल पक्ष

निश्चय पनि तोरकीनको सबभन्दा ठूलो शक्ति यसको स्थानीयता हो। लेखकले उपल्लो मुस्ताङको आवाज, संस्कृति र परिवेशलाई नेपाली साहित्यको केन्द्रमा ल्याएका छन्। उनले प्रकृतिलाई केवल पृष्ठभूमि होइन, पात्रहरूको भावना र अनुभवको वाहकका रूपमा प्रस्तुत गरेका छन्। अनि तोरकीनको दुर्बल पक्ष के हो त ? निश्चय पनि यसतर्फ पनि केही चर्चा गर्न सकिन्छ । उपन्यासको पूर्वार्ध अत्यधिक सपाट र मन्द हुनु, उत्तरार्ध पूर्वार्धले तयार गरेको धरातलबाट एकाएक जताततै छरपस्ट बन्नु ।  अनेक स्थलमा अति तीव्र संवेदनाका लागि तयार भएका पाठकलार्इ मन्द संवेदना मात्रै पस्कन सक्नु, स्थानीय संस्कृतिको वर्णनमा सशक्त हुँदा अनेक स्थलमा कथानक खुकुलो हुन जानु, उपन्यासको अन्त्य अपेक्षाकृत रूपमा सशक्त हुन नसक्नु इत्यादि तोरकीनका दुर्बल पक्ष हुन् । ध्वनिमाध्यमको प्रयोग नगरी केवल लिपि र अक्षरमार्फत स्थानीय लवज र सांस्कृतिक बान्कीलाई उतार्ने लेखकको प्रयास दुस्साहसी र प्रशंसनीय  हुँदाहुँदै लिपिका सीमितताका कारण कतिपय ठाउँमा ती लवजहरू पूर्ण न्याय पाउन नसक्नुलार्इ पनि अर्को दुर्बल पक्ष मान्न सकिन्छ । निश्चय पनि ल्होवा भाषाका शब्दहरूको प्रशस्त प्रयोगले पात्रहरूलाई बाँचेकै परिवेशमा राख्छ। पाठक मुस्ताङकै आँगनमा बसेर कुरा सुनेझैँ अनुभव गर्छ।  तर यही विशेषता कहिलेकाहीँ चुनौती पनि बन्छ। कहिले काँही अचानक स्थानीय पात्रका मुखबाट सुनिएको क्लिष्ट तत्सम शब्दहरूको प्रयोगले स्वाभाविक प्रवाह तोड्छ, कहिले पात्रका संवादहरू अस्वाभाविक बन्छन्। यसरी पाठक कहिलेकाहीँ चराङका गल्लीबाट सम्पादकको टेबलमा आइपुगेको महसुस गर्छ।   पुस्तक पढ्दा एकचित्त भएर पढ्ने र तत्काल अन्य सहायक सामग्री हेर्न नरुचाउने र मुस्ताङको भूगोलसँग अपरिचित पाठकका लागि पुस्तकमा मुस्ताङको मानचित्र पनि भैदिए हुन्थ्यो भन्ने लाग्न सक्छ । अझ अन्त्यमा दिइएको शब्दार्थसँगै चित्र पनि भैदिए हुन्थ्यो भन्ने पनि लाग्न सक्छ । तर यी अति अपेक्षाहरू हुन् । समष्टिमा भन्दा तोरकीनमा भएका त्रुटि, असङ्गति र सीमितताहरू मूलतः लेखकको कमजोरी भन्दा पनि समीक्षकको अति अपेक्षा वा छिद्रान्वेषिता का कारण छन् । नगण्य छन्  । उपेक्षायोग्य छन् ।

10.  सार र सन्देश

अन्त्यमा निष्कर्षका रूपमा भन्नुपर्दा, तोरकीन केवल एउटा उपन्यास होइन, एक यात्राको दस्तावेज हो । प्रेम, प्रकृति र समयबीचको मौन संवादको कथा हो । यो कथा शब्दभन्दा धेरै अनुभूतिको यात्रा हो, जसमा चराङको आकाश, हावाको शीतलता, अनि मानेहरूमा बगेको समयको आवाज मिसिएको छ। यसका पानाहरू पल्टाउँदा लाग्छ, कुनै सन्तानले आफ्नो गाउँ, संस्कृति र समयप्रतिको असीम माया शब्दमा पोखेको छ। यो केवल एउटा कथानक होइन, आत्मा र माटोबीचको सम्झौता हो। लेखकले यस उपन्यासमार्फत पाठकलाई एउटा जटिल प्रश्न सोध्छन् । सुख र समृद्धि आखिर के हो? के हामी समृद्धिका नाममा आफ्नै जरा काटिरहेका छौँ? जब शहरका उज्याला बत्तीहरूबिच आत्मा अन्धकारमा हराउँछ, तोरकीन त्यहीँ उज्यालोको दियो बन्छ। यो पढ्दा लाग्छ, पहाडको हावा, गोठालोको गीत, अनि चराङको निस्तब्धतामा हराएको एउटा जीवन फेरि उठिरहेको छ। यो कृति भावनाको, बिर्सँदै गएको संस्कृतिको र आत्मिक सौन्दर्यको पुनर्जागरण हो। हरेक पात्र, हरेक संवादले गाउँको आत्मालाई बोलाउँछ। पाठकहरू आफैंलाई तिनै पहाड, गुम्बा र उच्च हिमालय पारीका गहिरा उपत्यकाहरूमा हिँडिरहेको महसुस गर्छन्। यसमा न त कृत्रिम भव्यता छ, न त चकाचौंधको मोह, छ केवल माटोको गन्ध, अनि मनको तिर्सना।

उपन्यास लेखनदेखि प्रकाशनसम्म, यस यात्रामा जो जो प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका छन्, ती सबै साधुवादका अधिकारी हुन्। तोरकीन केवल पढिने होइन, महसुस गरिने कृति हो। यसको चर्चा चलिरहनेछ । शोधपत्रहरूमा, पुस्तकालयहरूमा, अनि भावनाको गल्लीहरूमा पनि। कुनै दिन कुनै महत्त्वाकांक्षी  चलचित्रकारले यो कथालाई पर्दामा उतार्ने हिम्मत जुटाए भने, अक्षरहरूले भोगेको संवेदना दृश्य बनेर झल्किनेछ। मानेहरू गुनगुनाउनेछन्, गुम्बाहरूको मौनता बोल्नेछ, अनि चराङका हिमालहरूले फेरि आवाज निकाल्नेछन्। अनि अक्षरभन्दा चित्रद्वारा रस लिने रसिकहरूले पनि यसको रस अनुभव गर्न सक्नेछन् । तोरकीन पढेपछि उपल्लो मुस्ताङ घुम्न नगएकाहरू घुम्न जानेछन् । घुम्न गएकाहरू उपल्लो मुस्ताङका कुनै सुदूर गाउँमा रोकिनेछन् । खण्डहर बन्दै गरेका पुराना दरबारधुलोले पुँरिदै गरेका  गुम्बाहरूमा पुग्नेछन् । र, संभवतः उनीहरू कुनै पुरानो गुम्बाको धुलोले छोपिएको कुनै पुरानो माने घुमाउने बेलामा, केही बेर  एकाग्र भएर गुनगुनाउनेछन्ओम् मणि पद्मे हुम्।”

~शिव सङ्कल्प (
shivasankalpa.np@gmail.com)

यो अवधारणापत्रको प्रमुख अंश मिति २०८२ मङ्सिर १३ को नागरिक दैनिकमा बिर्सँदै गएको आत्मिक साैन्दर्य शीर्षकमा प्रकाशित  भएको थियो । 



Monday, July 29, 2024

पोखरामा साउनको एक दिन

 हाँसेको तिउरी पुष्प, घामको कलिलोपन ।
पोखरामा वसन्तै झैं निस्के श्रावणका दिन ।। १ ।।


पूर्वाह्नमा घाम चढ्यो, चर्को झर्को बढी भयो
पसिनाका बगे धारा, लाग्यो यो मध्य-ग्रीष्म हो ।। २ ।।

अपराह्न भयो फेरी ग्ड्याङ्ग बादल गर्जियो
वर्षा भयो ठुलो भेल चल्यो चट्याङ बज्रियो ।। ३ ।।

साँझमा मेघ त्यो फाट्यो, खुला आकाश देखियो
पूर्णिमा श्रावणी हेर, शरद्को पूर्णिमा बन्यो ।। ४ ।।

शनै: शनै: रात ढल्यो, वायुमा आर्द्रता बढ्यो
हेमन्तको सिरेटोको झझल्को यसले दियो ।। ५ ।।

प्रात:काल चल्यो हावा, काँप्यो अधर थर्थरी
प्यारो सिरक लाग्दैछ रातको शिशिरै सरी ।। ६ ।।

२०८१ श्रावण  ५

Friday, June 21, 2024

स्व-विचरण (कृति समीक्षा)



वज्रादपि कठोराणि मृदूनि कुसुमादपि ।
लोकोत्तराणां चेतांसि को हि विज्ञातुमर्हति ।।

(वज्रभन्दा कठोर र फूलभन्दा पनि कोमल ती  महान् व्यक्तिहरूको हृदयलाई कसले जान्न सक्छ र ?)
~उत्तररामचरितम् ।

सात वर्ष अघि  गनेस पौडेलको पैतालामुनि के छ ?    भनेर खोस्रने र तीन वर्षअघि दीपक पराजुलीको कृतिमा सत्य र मिथ्या खोज्ने भाषिक र प्रेमिकले सरस्वती प्रतीक्षाको स्व भेट्टाए । पोखरा निवासी अक्षरव्यसनी शिव सङ्कल्पकी एघार महिनाकी कान्छी छोरी अपालाले यसको स्वगृह विमोचन गरिन्  । विमोचन गर्दै गर्दा उनका कोमल हातहरूले उपन्यासको पृष्ठ १५० को छेउमा अनायासै च्यात्न पुगे ।  पछि पुस्तक पढ्दा प्रेमिकले थाहा पायो त्यहाँ त उनै अपालाको नाम रहेछ । 

सरस्वती प्रतीक्षाको कलम प्रवाहमय छ ।

यसपटक भाषिकले शुरु गर्‍यो ।

सप्तमले एसएलसीमा उच्च अङ्क ल्याएको कुरा अनेक स्थावर जङ्गमहरूलाई सुनाएको अनुच्छेद (पृ.३९) अनि सप्तम र काव्यालाई दिइएका उपमाहरू (पृ.१२९) प्रवाहमय बनेका छन् । हर्पन खोला (पृ.४७), पोखरा वरिपरिका डाँडाहरू (पृ.५८), खपौदी, सेदी (पृ.६१), बाटुलेचौरका बिम्ब र प्रसङ्गले पोखरेली सुगन्ध बोकेका छन् ।  उपन्यासमा प्रयुक्त मादिकिनार, खसीलाल, अँधेरी जस्ता नामहरू उदेकलाग्दा लागे पनि सप्तम, काव्या, अपाला, वैदेही जस्ता नामहरू भने अति सुन्दर सुनिएका छन् । उनले गरेका उज्जर (पृ.५), रनाहा (पृ.२०), मखलेल (पृ.२८), पोयो (पृ.१२३), लहरी (पृ.१७०) जस्ता शब्दहरूको प्रयोग सुन्दर लागेको छ । संवादमा प्रयोग गरिएका गरम् , दिम् , जाम्, बसम्, हिँडम् जस्ता शब्दहरूले तथाकथित मानक गरौँ, दिउँ, इत्यादिभन्दा धेरै सुललितता थपेका छन् । पुस्तकको कथानक र दर्शनको बारेमा त तिमीलाई नै बढी थाहा होला तर मलाई त  सप्तम बोधिनगरबाट फेरी होसमा आउँदा होसका पात्र र बोधिनगरका पात्रको साम्य भेटेको पढ्दा विक्टर फ्लेमिङको पुरानो प्रसिद्ध चलचित्र विजर्ड अव अज को पो सम्झना भयो ।

अरे के अचम्म हो यो ? तिमी त छिद्रान्वेषी मान्छे । तिमीले त यो पुस्तकमा पनि पहिलेका पुस्तकमा जस्तै अनेक छुद्र शाब्दिक त्रुटिहरू गनेर गनगन गरौला भन्ने लागेको थियो । तिमी त यसको प्रशंसा पो गर्दैछौ आज  घाम कताबाट उदाए  होलान्  कि तिमीले अक्षरका छिपछिपे बान्की केलाउन छाडिदिएर त्यस भित्रका मर्महरूमा प्रवेश गर्न सिकेका हौ ?’ 

प्रेमिकले व्यङ्यात्मक पारामा सोध्यो ।

हैन, साँच्चै नै यो पुस्तकमा समकालीन अन्य पुस्तकका तुलनामा त्यस्ता त्रुटिहरू कम छन् । शायद यसपटक भाषा सम्पादकले ठिकठाक काम गरेका छन् अर्थात् प्रकाशकले भाषा सम्पादनमा ठिकठाक लगानी गरेजस्तो छ ।

भाषिकले हाँस्दै भन्यो ।

अरे के भन्दैछौ ? तिमीजस्तो छिद्रान्वेषीबाट यस्ता कुरा ? पत्यार लागेन भो, केही त भन । के यो पुस्तकमा भाषिक त्रुटि नै छैनन् त ?

प्रेमिकले अचम्म मानेर सोध्यो ।

त्रुटिरहित त संसारमा के हुन्छ र ? यो पुस्तकमा शाब्दिक त्रुटिहरू हुँदै नभएका भने होइनन् । तिमी जिद्दी नै गर्छौ भने म केही उदाहरण भन्छु सुन । विशद् (पृ. ), भेषभुषा (पृ.१७२), यथेष्ठ (पृ.२७०)  जस्ता हिज्जेहरूका त्रुटिमा तथा तुस हुनुपर्नेमा तुष (पृ.२७), कुँजिएकी नभनेर कुञ्जिएकी भएको (पृ.३३), एकाकीपन हुनुपर्नेमा एकाङ्कीपन भएको (पृ.१३३) इत्यादिमा भने सम्पादक सुलुत्तै चिप्लिएको देखिन्छ भने असमयमै’ हुनुपर्नेमा असमयकै (पृ. आ),  चौधौँ हुनु पर्नेमा चौध भएको (पृ.१), एकै पङ्क्तिमा मित्रवत र मित्रवत् (पृ.१६५)  लगायतका सामान्य प्रुफ अशुद्धिहरूमा भने हल्का चिप्लिएको मान्न सकिन्छ ।

अनि अङ्ग्रेजीमा तालव्य श उच्चारण हुने शब्दहरूलाई पनि नेपालीमा लेख्दा दन्त्य स लेख्ने हिजो आजका नेपाली महावैयाकरणहरूले बाँधेको नियमलाई पछ्याउँदा बनेका सेयरिङ (पृ. ऐ), प्रोफेसन (पृ.१८), जोन न्यास (पृ.१४६) सप (पृ.१४७), सर्ट (पृ.१४८) जस्ता शब्दहरू  उच्चारणमा सावधान हुन चाहने पाठकहरूका लागि विभ्रमजनक हुँदा रहेछन् भन्ने मलाई लागेको छ ।

सरस्वतीको लेखनमा अङ्रगेजी शब्दहरू प्रशस्त छन्  । मिस, ब्रेकअप, ह्याङ, प्यासन, एक्सपायरी डेट, प्रोफेसन, मास्क, फिल, स्पेस, करिअर, पेन्डुलम, वानपिस, थेरापी, थेरापिस्ट, टर्चर, रिजर्भ, बेसिक, क्लिन्जिङ, डिप क्लिन, सोलो ट्रेक, सेन्स अफ ह्युमर, सेलिब्रेट, टिजर, ट्रेलर, इन्टेररियर डिजाइन, प्याकेजिङ, प्याकेटिङ, मेटाफिजिकल, स्पेसक्राफ्ट, फ्यान, इमेज, प्याटर्न, रुट, मर्निङ वाक जस्ता शब्दहरूको प्रयोग अधिकांश स्थलमा स्वाभाविक बनेर आएको छ । शायद हाम्रा कानहरू यी शब्दहरूमा धेरै नै अभ्यस्त भैसकेर होला । बरु यतिका अङ्ग्रेजी शब्दहरू सहज तरिकाले लेख्ने लेखकले बच्चा जन्मेपछिको एक मिनेटलाई पारिभाषिक रूपमा नै भनिने गोल्डन मिनेट चाहिँ नभनेर सुनौलो मिनेट भनेको पो मलाई नौलो लागेको छ त । 

अनि फेरी डब्ल्यु एच प्रश्नहरू भन्ने परिच्छेद नै राखिनु भने कता कता कस्तो कस्तो लागेको छ । ह्वुज (पृ.८८), पल्पिटेसन (पृ.१०५, ११९), लेफ्टिज (पृ.१३१) अस्वाभाविक छन् । प्याल्पिटेसन नभने पनि कम्तिमा पाल्पिटेसनसम्म भने बिसेक हुन्थ्यो ।  पटक पटक आएको मिनिमालिजमलाई मिनिमलिजम नै लेखेको भए जाती हुन्थ्यो । इन्टरमिटेन्ट फास्टिङलाई इन्टरमिटेड भन्दा (पृ.१४७) घक्रक्कै गडबड सुनिएको छ ।

ओम् ध्वनिको विच्छेद गर्दा अ उ म नभनेर ए उ म भनेको (पृ. १०६) चसक्कै बिझाउँछ । शायद यसको सन्दर्भ अङ्ग्रेजीमा पढिएकाले हो कि ? जस्तो लाग्छ । अभिधम्मपिटकलाई अधिधम्मापिटक (पृ.२६१) लेखिएको देख्दा पनि त्यस्तै लाग्छ । गीताको अत्यन्त प्रसिद्ध श्लोकको उद्धरण गर्दा पनि  साधूनाम, चः दुष्कृताम्, सम्भवामी (पृ.१३६) जस्ता अशुद्धि हुनु पनि पच्दैन ।  अनेक पटक स्वयंसेवक जस्ता शब्दहरूको पूर्वभागमा आएको स्वयंलाई स्वयम् लेखिनु खट्कन्छ । दुःखातिरेक नभनेर अतिरेक दुःख भन्नु असङ्गत सुनिन्छ । पालि भाषाको  रहेको शायद पुस्तकमा सबैभन्दा महत्त्व दिइएर अनगिन्ती पटक लेखिएको अप्प दीपो भवः मा रहेको अन्त्यको विसर्ग पनि प्रत्येक पटक बिझाउँछ ।

भाषिकले लामो भाषण गरेर विराम लिए पछि प्रेमिकले शुरु गर्‍यो ।

तिमी सुध्रियौ भन्ने ठानेको त के को हुन्थ्यो ?  यी काला अक्षरका अवयव केलाउँदा बोक्राले तिमी बुज्रुक जस्तो देखियौ तर गुदीले चाहिँ तिमी के भयौ ? कहिल्यै यस बारेमा सोचेका छौ ? हो यो यस्तै काला अक्षरहरूद्वारा बिझाइएर बस अब तिमी । शब्दातीत भएर साँच्चै स्वयंप्रकाश भएर हेर्ने गति तिम्रो यो जुनिमा पुग्ला जस्तो लाग्दैन । तिमी सहस्रारमा त पुगेको पुग्यै हो, अनाहतमा पनि गतिलो गरी अडिन नसकेर मणिपुर तिरै खस्किएर तिम्रो जीवन बित्ने देखिन्छ । ठिक छ, भाषिक  ठिक छ । तिमी आफ्नै कुवामा रमाएर बस । दिल्लगी (पृ. ३) सुकून (पृ. ५६), काश (पृ.१२९), झपकी (पृ. १५६), नजरिया (पृ. १८४) जस्ता शब्दहरूलाई सुन्दर ढङ्गले नेपालीमा भित्र्याएको स्वीकार गर्ने हिम्मत तिमीमा छ ?  तिमीले त कतै काव्या हुनु पर्नेमा काव्य भएर मात्रा छुटेको (पृ.६५), ल्यापटप ल्यापट भएको (पृ.१०८), एकरसता हुनुपर्नेमा एकसरता भएको (पृ.११५), अड्रेनलिन हुनु पर्नेमा एड्रोनालाइन भएको (पृ.१३६) पनि भन्छौ कि जस्तो लागेको थियो कस्सो छुटायौ । अनि छक्कभन्दा पनि बढी विस्मित (पृ.२५६) भनेको  अनि बुद्ध महान् मनोचिकित्सक हुन् भने लगत्तैको वाक्यमा बुद्ध थेरापिस्ट हुन् (पृ.२६२) भनेको चाहिँ कस्तो हो भनेर सोध्दैनौ ? अनि पहिले उनले रक्सी खाए पछि रक्सीले उनलाई खायो (पृ.३७), ऊ साँझ काटिरहेको छैन । साँझले बरु उसलाई अचानोमा राखेर काटिरहेको छ । (पृ.७९)  जस्ता सुललित तर पहिल्यै सुनिसकेका जस्ता लाग्ने वाक्यले भने लेखनमा बासीपन दिएको छ  भनेर भन्दैनौ ?

भैगो तिमीले भनेका कुरा म दोहोर्‍याउन चाहन्न ।  थप कुरा गर्दा फैजको कवितालाई देवनागरी लिपिमा लेख्दा विभक्ति नछुट्याएर नेपालीपन दिइएकोलाई सुन्दर नै माने पनि र नुक्तालाई बेवास्ता गरे पनि मसरूफ’  हुनु पर्नेमा मशरूफ’  हुँदा र दोनों को दोनोंका हुँदा चाहिँ विझाएको छ (पृ.५०) । तर परमहंस योगानन्दका गुरु युक्तेश्वरलाई युक्तानन्द भनिँदा (पृ. १११) बरू नमिल्दो सुनिएको छैन,  लाहिडी महाशयलाई लाहिरी भनिनु (पृ.८७) चाहिँ नुक्ताको अभाव वा भारतमा अङ्ग्रेज शासनको कारण हामीलाई पचिसकेकै छ ।  जलकुम्भीको द्विपद नाम आइकोर्निया क्र्यासिपिसलाई हाँसो उठ्दो पारामा इचोर्निया क्रैसिप  (पृ. ६१) लेख्नुभन्दा बरु नयाँ द्विपद नाम पोन्टेडेरिया क्र्यासिपिस नै लेखेको भए ठिक हुन्थ्यो भन्ने चाहिँ लाग्छ ।  डम्पिङ साइट (पृ.४९) भन्न जान्नेले ल्यान्डफिल साइड (पृ. २७७) भनिदिँदा दाँतमा ढुङ्गा लागेजस्तो हुँदो रहेछ ।

हे भाषिक, तिमीले फेरी पुरानै लय समातेका छौ  तिम्रो हृदय त छ ? कि त्यो पनि अदालत जस्तै भैसकेको छ ? तिमी किन कण कणमा भुलेका छौ ? बृहत् किन तिम्रो दृष्टिपथमा पर्दैन ? किन तिमी सधैँ क्षुद्रमा नै अलमलिएका छौ ? के तिमीले आफ्नो नश्वरता विचार गरेका छौ ?  सुदूर ब्रह्माण्डका आकाशगङ्गाका मृत्युहरूबारे तिमीले कहिल्यै सोचेका छौ ? के तिमीले म्याथ्यु रिकालाई पढेका छौ ? जीवनलाई रसपूर्ण रूपमा बाँच्ने तिम्रो कुनै संभावना छ ? के तिमी डेड पोएट सोसाइटीको जोन किटिङ बन्न सक्छौ?  के तिमी हारुकी मुराकामीका शब्दका तलाउमा जलविहार गर्न सक्छौ ? तिम्रा बँगैचामा कत्तिको हरियाली छ ? तिम्रा जीवनमा यस्तै बाहेक कुनै सम्झनयोग्य सम्झनाहरू छैनन् ? के तिमी दुख्दा पनि सचेत भएर दुख्ने अभ्यास गर्न सक्छौ? तिमी जीवनवादी हौ कि मृत्युवादी हौ ?  तिमी भौतिक  र पराभौतिकमा समन्वय गर्न  सक्छौ?  आदर्शको प्रथम आसनमा बस्ने नै आडम्बरको अन्तिम आसनमा पनि बसेको हुन्छ भन्ने कुरालाई ख्याल राख ।  अतिवादी नबन । मध्यम मार्ग अबलम्बन गर । चेतन र अवचेतन रूपी जाँताका दुई ढुङ्गाहरूमा राम्रोसँग पिसिए पछि बल्ल तिमी मसिनो र मृदु हुनेछौ । साधारणभन्दा साधारण सबाल्टर्न मानिसको जीवनमा पनि असाधारण जीवन दर्शन  लुकेको हुन्छ ।  क्वान्टम इन्ट्याङ्गलमेन्ट र नन लोकल कोरिलेशनको रहस्य बुझ्न प्रयास गर । पुस्तकमा इन्ट्यान्गल्डमेन्ट किन छ भनेर किचकिच नगर । कथालाई फ्रेटागको सूत्र प्रयोग गरेर पाँच भागमा भाँचेर बुझ । अनगिन्ती टुक्रामा टुक्र्याएर कुहिराको काग नबन । स्वयंको नगिच जाऊ र चुपचाप बस । 

यसपटक प्रेमिकले पनि धाराप्रवाह प्रवचन दियो ।

केहि समयको मौनता पछि भाषिकले शुरू गर्यो । कुराको विषयान्तर गर्नमा इच्छुक देखियो ऊ ।

के गर्नु ? म मूलतः मेरो जीवनका सम्पादक र प्रकाशक प्रति उदार हुनमा प्रयासरत छु । मेरो जीवनकी सरस्वतीको नगिच त म पुगैकै छैन । बरु तिमी कतै छेउछाउमा पुग्यौ कि ? अलि अलि योग, तन्त्र र ध्यान साधनाका बारेमा त मैले पनि सुनेको छु । अनि यो कर्मदेशना भनेको के रहेछ ? तिमीलाई कस्तो लाग्यो यो ? मलाई त धर्मदेशनाको विकल्पमा आएको कर्मदेशना धेरै कडा लाग्यो । हात काटिदिने, खसी काट्दा काट्दै मान्छे काट्न मन बहकिने जस्तो हिंस्रक र घाउ कोट्याइरहने जस्ता बीभत्स कथाहरू यसमा छन् । हेय, हेयहेतु, हान र हानोपायका चार आर्यसत्यमा हान र हानोपाय धेरै सङ्कुचित भएजस्ता लाग्छन् । अँधेरी नेपाली साहित्यका स्त्री चरित्रहरूमा बाँच्दै बाँच्दै गएको कथा रोचक लाग्यो मलाई । कामेसुमिच्छाचारा वेरमनि सिक्खापदं समादियामीको नवीन व्याख्या छ यसमा । सुशीला तथाकथित सुशीला छैन । स्त्रीद्वेषी उखानको लघुसङ्ग्रह (पृ. २१७, २१८) प्रस्तुत गर्छे  ऊ ।

बरु पुस्तकमा एक स्थानमा आएजस्तो दाहिने मस्तिष्क र देब्रे मस्तिष्कको कार्यविभाजन भने उति सरल छैन ।  यो विज्ञानको अत्यन्त सरलीकृत व्याख्या हो । विज्ञान उति सरल पनि छैन । अन्नपूर्ण आधार शिविर र सगरमाथा आधार शिविरभन्दा पनि थोराङ्ला उच्च र ठाडो उकालो भएको हेक्का मादिकिनारलाई नभएको जस्तो देखिन्छ (पृ. १७९)  र यो स्वाभाविक पनि हो । मादिकिनारको कथा सुन्दा बुद्धकालीन पात्र पटाचाराको स्मरण हुन्छ । यो कथा किन हो किन मलाई अस्वाभाविक लागेर पनि स्वाभाविक लाग्छ । रुखहरूको संवादको जालको वैज्ञानिक व्याख्याको उद्धरण यथास्थानमा समुचित लाग्छ । बरु अन्त्यमा काव्याले तात्तातो चिया लिएर आउँछु भनेर भान्सातिर लागेको अनि अलि पछि सप्तमको खोजको मूल्य मैले चुकाउनु परिरहेको छ भनेको चाहिँ मलाई मन परेन । अब दुबै मिलेर एक एक गिलास चीसो पानी खाऊँ भनेको भए अनि तिम्रो खोजको तिमीलाई शुभकामना म पनि अब मेरै खोजमा लाग्छु भनेको भए हुन्थेन ?

भाषिकले बोलिरहँदा पनि प्रेमिकको ध्यान अन्तै थियो । ऊ पुस्तकको आवरणमा रहेको उसको प्रिय कलाकार सचिन योगलको चित्र हेरेर टोलाइरहेको थियो ।  चित्रमा उसले पृष्ठभूमिमा उदाँउदो सूर्य र स्तूप देख्यो  भने अग्रभूमिमा दुई हातहरूका बीचमा सुन्दर जलकुम्भीको फूल देख्यो । एक छिन पछि उसले त्यहाँ फेवातालमा तैरिरहेको डुङ्गामा एक ध्यानस्थ माझी पनि देख्यो र गुनगुनायो । 

वनेपि दोषाः प्रभवन्ति रागिणां गृहेपि पञ्चेन्द्रियनिग्रहस्तपः ।
अकुत्सिते कर्मणि यः प्रवर्तते निवृत्तरागस्य गृहं तपोवनम् ॥

(संसारमा राग भएकाहरूका लागि वनमा पनि दोष हुन्छन् भने राग निवृत्त भैसकेकाहरूका लागि घरमा नै पाँचै इन्द्रिय वशमा राख्ने तपस्या सम्भव हुन्छ । कुत्सित कर्म नगरीकन जो चल्दछ उसका लागि घर नै तपोवन हो ।)

भैगो यो वादविवादलाई बाँकी राखेर बरु भास्कर हजारियाको चलचित्र हेर्ने त आज ?  

 भाषिकले सोध्यो ।

 भयो त्यो नहेरौँ । त्यसको वर्णनले नै मलाई पुग्यो । अब जाऔँ ।  

प्रेमिकले भन्यो र त्यसपछि मैत्रेय्युपनिषद्को श्लोक गुनगुनाउँदै ऊ निस्कियो । भाषिक पनि उसैको पछि लाग्यो ।

अनुभूतिं विना मूढो वृथा ब्रह्मणि मोदते ।
प्रतिबिम्बितशाखाग्रफलास्वादनमोदवत् ॥

(जसरी कुनै पनि मानिसले  प्रतिबिम्बमा देखिएको हाँगाको टुप्पामा लागेको फल देखेर त्यसको  स्वाद लिएको कल्पना गर्दछ, त्यसरी नै वास्तविक अनुभव बिना अज्ञानी मानिसले ब्रह्मको आनन्द प्राप्त गर्ने व्यर्थ कल्पना गर्छ।)



~शिव सङ्कल्प (कृति समीक्षा)

कृति: स्व (उपन्यास)

लेखक: सरस्वती प्रतीक्षा
प्रकाशक: बुक हिल
पृष्ठ: २८०
मूल्य: रू. ५९९

गुणवत्ता: ✘✔✔✔✔



धेरै पढिएकाे

पृष्ठ संग्रह